न्युजिल्यान्ड । न्युजिल्यान्डको रक्षा बलका प्रमुख एयर मार्शल टोनी डेभिसले पदमा रहँदा भएको ‘अनुचित सम्बन्ध’बारे जानकारी नदिएको विषयमा शुक्रबार राजीनामा दिएका छन्।
न्युजिल्यान्डको रक्षा बलले जारी गरेको विज्ञप्तिअनुसार डेभिसले रक्षामन्त्री पल गोल्डस्मिथलाई आफ्नो राजीनामाबारे जानकारी गराएका हुन्। उनले विगतमा आफूबाट भएका निर्णयसम्बन्धी त्रुटिको जिम्मेवारी लिँदै राजीनामा दिएको बताएका छन्।
डेभिसले ती त्रुटि रक्षा बलका मूल्य र मान्यताविपरीत रहेको स्वीकार गरेका छन्। उनले एक सैन्य इकाइको कमान्डमा रहँदा अनुचित सम्बन्ध राखेको र त्यसबारे जानकारी गराउने अवसर पाए पनि खुलासा नगरेको बताएका छन्।
‘मैले विगतमा गरेका निर्णयसम्बन्धी त्रुटिको जिम्मेवारी लिइरहेको छु। ती त्रुटि रक्षा बलका मूल्य र मान्यताविपरीत थिए,’ डेभिसले विज्ञप्तिमा भनेका छन्। उनले उक्त सम्बन्धबारे समयमै जानकारी नदिएकोमा पछुतो लागेको पनि बताएका छन्।
रक्षामन्त्री गोल्डस्मिथले डेभिसको पदमा निरन्तरता अब सम्भव नरहेको बताएका छन्। उनले डेभिसको निर्णयसँग सम्बन्धित विषय इमानदारी र आचरणसँग जोडिएको तथा त्यसबारे पहिले जानकारी नदिइएको उल्लेख गरे।
गोल्डस्मिथले डेभिसको राजीनामा स्वीकृत गर्न गभर्नर जनरलसमक्ष सिफारिस गर्ने बताएका छन्।
डेभिसको राजीनामापछि रक्षा बलका उपप्रमुख म्याट विलियम्सले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने रक्षा बलले जनाएको छ।
डेभिस सन् १९८४ मा न्युजिल्यान्डको सेनामा प्रवेश गरेका थिए। उनलाई सन् २०२४ मा रक्षा बलको सर्वोच्च पदमा नियुक्त गरिएको थियो।
