• Friday 23rd of October 2026

प्रचण्ड सरकारलाई विभाजित दुवै जसपाको समर्थन कायमै


  • धनकुटा खबर
  • .

सत्तारूढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएर जनता समाजवादी गठन भएको छ।

यी दुवै दलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अहिलेको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सदस्यले आइतबार पार्टी विभाजन गरेका थिए। नयाँ पार्टी जसपालाई निर्वाचन आयोगले सोमबार मान्यता दिएको थियो।
नवगठित जनता समाजवादीका महासचिव मोहम्मद इस्तियाक राईले सोमबार विज्ञप्ति निकालेर प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय भएको उल्लेख गरेका छन्।

संसदीय दल नेता अशोक राईको अध्यक्षतामा बसेको बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो। नवगठित जनता समाजवादीमा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी पनि छन्।
यो पनि: अहिलेकै सरकारलाई समर्थन जारी राख्ने नवगठित जसपाको निर्णय

यस्तै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि अहिलेको सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने बताएको छ। अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री पनि छन्।

पार्टीका प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने बताए। अध्यक्ष यादवले मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका थिए।

‘आज बिहान प्रधानमन्त्रीसँग अध्यक्षले कुरा गर्नुभयो। प्रधानमन्त्रीलाई केही अप्ठेरो भए मार्गप्रशस्त गरिदिन्छौं भनेर अध्यक्षले भन्नुभएको थियो,’ प्रवक्ता सुमनले भने, ‘उहाँले केही अप्ठेरो छैन। तपाईंहरूको साथ समर्थन हामीलाई रहिरहोस् भन्नुभएको थियो।’

उनले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन निरन्तर रहने पनि बताए।
‘जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रधानमन्त्रीलाई दिइएको समर्थन निरन्तर रहनेछ। हामी सरकारमा छँदै थियो। फागुन ११ गते १० बुँदे एउटा कागजमा ४ पार्टीले एउटा हस्ताक्षर गरेर जग हालेको छौँ। त्यही गठबन्धन अहिलेसम्म चलिरहेको छ,’ उनले भने, ‘सात जना सांसदहरुले हाम्रो पार्टी फुटाउँछौ भनेर गए।हामी त सँगै छौं। हामी सरकारसँगै छौं। बरु फुटेर जानेहरु टुट्न सक्छन्।’

अध्यक्ष यादवले पार्टीका सात सांसदहरुले जनता समाजवादी गठन गरेपछि उत्पन्न परिस्थितिबारे मंगलबार बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल पनि गरेका छन्।

प्रवक्ता सुमनका अनुसार बुधबार बिहान ११ बजे पार्टी विभाजनलगायत विषयमा पत्रकार सम्मेलन पनि राखिएको छ।

फुट्नुअघि प्रतिनिधि सभामा जसपाका १२ जना सांसद थिए। यीमध्ये प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा यादव, सुडी र वन राज्यमन्त्रीमा दीपक कार्की सहभागी थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖