काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मध्यक्रमका भरपर्दा ब्याटर रोहित पौडेलको कप्तानीमा आइसीसी टि२० विश्वकप २०२४ खेल्दैछ ।
गत वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले मोन्टि देशाइलाई प्रशिक्षक नियुक्त गरेसँगै रोहित पौडेल कप्तान नियुक्त भएका थिए । प्रशिक्षक देशाइ र कप्तान रोहितले नयाँ जिम्मेवारीमा नेपाललाई उत्कृष्ट सुरुवात दिलाउँदै अविश्वसनीय नतिजा निकालेका थिए ।
लिग-२ को अन्तिम १२ मध्य ११ खेल जित्दै टोलीले ओडीआई मान्यता मात्र जोगाएन विश्वकप छनोट पनि खेल्न पायो । त्यसपछि एसीसी प्रिमियर कपको उपाधि जित्दै टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग पनि खेल्यो ।
रोहितले नेतृत्व लिएसँगै आफ्नो प्रदर्शनमा पनि सुधार गरेका छन् । टोलीको ब्याटिङ क्रममा पनि माथि उक्लिएका उनी वर्तमान समय करिअरकै उत्कृष्ट लयमा छन् ।
टि२० विश्वकप खेल्न जानुअघि कप्तान रोहितसँग हामीले गरेको केही रमाइला प्रश्न र त्यसमा उनको उत्तर जस्ताको तस्तै:
सन् २०१४ को विश्वकपको दौरान के गर्दै हुनुहुन्थ्यो?
म घरमा बसेर खेल हेरिरहेको थिएँ । पूरै गाउँ पनि मसँगै खेल हेरिरहेको थियो । त्यतिबेलाको उत्साह फरक थियो । त्यो समय र यो यात्रा एकदम प्रेरणादायी भएको अनुभूति हुन्छ । त्योबेला घरको सबै एकै ठाउँ बसेर टिभी हेरिरहेका थियौं ।
हालसम्म आफ्नो क्रिकेट करिअरको उत्कृष्ट क्षण कुन हो?
ओडीआई मान्यता पाएको, एसिया कप खेलेको र अब चाहिं विश्वकप हुन्छ जस्तो लाग्छ ।
जर्सी नम्बर १७ नै लगाउनुको कारण?
त्यस्तो यहि नै भन्ने कारण छैन ।
-हाम्रो खेलकुदबाट
