• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

खेलाडीले पाउने २ करोड ९७ लाख पुरस्कार अनुमोदन, क्रिकेट टिमले २ करोड ४ लाख पाउने


  • धनकुटा खबर
  • .

मन्त्रिपरिषदको बैठकले खेलाडी तथा अफिसियलका लागि २ करोड ९७ लाख १० हजार नगद पुरस्कार दिने प्रस्ताव बिहीबार अनुमोदन गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदले अनुमोदन गरेसँगै १९औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्।
आइसिसी मेन्स टी-२० विश्वकप कपको एसिया छनोटमा दोस्रो हुँदै विश्वकपमा पुगेको राष्ट्रिय क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ।

१५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्नेछन्।

१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्याले १ लाख ९५ हजार प्राप्त गर्नेछन्। एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछन्।

एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन्। यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्नेछन्।

यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖