चितवन । बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि सहकारीका कर्मचारी समेत रहेका गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका छन् ।
सनराइज सहकारीका कर्मचारी रहेका महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए ।
२०७८ मा उत्कृष्ट कर्मचारी भएका निर्मल २०७९ भदौपछि सहकारीले बचतकर्तालाई बचत फिर्ता दिन नसक्ने भएपछि समस्यामा पर्न थालेका थिए । पटक पटक बचतकर्ताहरू महतोकै घर समेत घेर्न आएका थिए । सहकारी समस्यामा परेसँगै बचतकर्ताहरू आन्दोलित हुन थालेपछि चिन्तामा थिए ।
किनकि उनले बुबाको चिनजान भजाएर धेरैलाई सहकारीको बचतकर्ता बनाएका थिए ।
सनराइज बचत तथा ऋण सहकारी संस्था बर्दिया गुलरिया–५ का नगेन्द्रबहादुर रिमाल अध्यक्ष रहने गरी भरतपुर ३ लायन्स चोकमा कार्यालय राखेर ०७४ देखि सञ्चालन हुँदै आएको थियो ।
संस्थाले चनौली र विकास चोकमा पनि शाखा खोलेको थियो । ०७९ भदौदेखि संस्थाले बचत फिर्ता दिन सकेन । समस्या बढ्दै गएपछि सोही वर्षको कात्तिकदेखि सहकारीको सबै कार्यालय बन्द भए ।
बचतकर्ताले सोही बेलादेखि छानबिनका लागि विभिन्न निकायमा धाएको तर कारबाही अगाडि बढेन । बचत फिर्ता नपाएपछि वचतकर्ताले संस्थाका कर्मचारीलाई दबाब दिँदै आएका थिए । सञ्चालक भने फरार हुँदै आएका थिए ।
