• Monday 19th of October 2026

टाइगर श्राफको कारमा गोली प्रहारको आरोपमा तीनजना पक्राउ, थिए नेपाल भाग्ने तयारीमा !


  • धनकुटा खबर
  • .

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा आइतबार साँझ गोली प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा तीनजनालाई राजस्थानको कोटाबाट सोमबार पक्राउ गरिएको छ । पक्राउ परेका तीनैजना दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेका भारतीय प्रहरीले जनाएको छ ।

घटनामा टाइगर श्राफका चालक फिरदौससहित दुईजना घाइते भएका थिए । अभिनेता श्राफ सुरक्षित रहेका र उनलाई कुनै चोट नलागेको प्रहरीले स्पष्ट पारेको छ ।

बीबीसी न्युज मराठीका अनुसार, मुम्बईको विले पार्ले पश्चिमस्थित जुहू प्रहरी थाना क्षेत्रमा गोल प्रहार गरिएको थियो । घाइते चालक फिरदौसको बायाँ हातमा गोली लागेको थियो । अर्का घाइते अभिनेता श्राफका एक प्रशंसक रहेका प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले भनेको छ, “टाइगर श्राफ सुरक्षित हुनुहुन्छ । उहाँलाई गोली लागेको छैन र उहाँ घाइते पनि हुनुभएको छैन ।”

घटना स्थानीय समयानुसार आइतबार बेलुका करिब ७ बजे भएको थियो । श्राफ व्यक्तिगत कामका निम्ति त्यहाँ पुगेका थिए । काम सकाएर फर्कने क्रममा उनको कारमाथि गोली प्रहार गरिएको थियो ।

घटनापछि विपक्षी दलहरूले महाराष्ट्रको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन् । कांग्रेस र शरद पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)ले राज्य सरकारले सर्वसाधारणलाई सुरक्षा दिन नसकेको आरोप लगाएका छन् । एआईएमआईएमका नेता वारिस पठानले घटनालाई ‘कानुन व्यवस्थाको पूर्ण विफलता’ भनेका छन् ।

मुम्बईका डीसीपी मोहित गर्गले घटनाको अनुसन्धान गर्न प्रहरीले विभिन्न टोली परिचालन गरेको बताए ।

प्रत्यक्षदर्शी शाहरुख शेखले दुई व्यक्ति एउटा गाडीबाट ओर्लिएर गोली चलाएपछि फेरि त्यसमै चढेर नेहरूनगरतर्फ भागेका बताए । उनले भनेका छन्, “दुईजना केटा एउटा गाडीबाट ओर्लिए र गोली प्रहार गरेर त्यही गाडीमा चढी नेहरूनगरतर्फ भागे । एउटा गोली टाइगरका चालकलाई लाग्यो भने अर्को गोली पछाडि रहेका एक प्रशंसकलाई लाग्यो ।”

उनले चालक घाइते भएपछि टाइगर श्राफ आफैँले गाडी चलाएको पनि बताएका छन् । श्राफ गाडीभित्रैबाट चालकको सिटमा सरेका उनको भनाइ छ ।

नेपाल भाग्ने तयारीमा थिए आरोपित !
टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको कोटाकी प्रहरी उपरीक्षक तेजस्विनी गौतमले बीबीसी न्युज हिन्दीलाई बताएकी छन् । कोटा सिटी प्रहरीले स्थानीय समयानुसार सोमबार बिहान करिब साढे ११ बजे तीनैजनालाई पक्राउ गरेको उनले जानकारी दिइन् ।

एसपी गौतमले भनिन्, “तीनैजना यहाँबाट दिल्ली र त्यसपछि दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा थिए । हामी उनीहरूसँग सोधपुछ गरिरहेका छौँ ।”

पक्राउ परेकाहरूको साथबाट हालसम्म हतियार बरामद नभएको प्रहरीले जनाएको छ । घटनामा उनीहरूको संलग्नता, गोली प्रहारको उद्देश्य र प्रयोग गरिएको हतियारबारे थप अनुसन्धान भइरहेको छ ।

आइतबार साँझ मुम्बईमा भएको गोली प्रहारपछि प्रहरीले विभिन्न टोली परिचालन गरी अनुसन्धान अघि बढाएको थियो । त्यसक्रममा प्राप्त सूचनाका आधारमा राजस्थानको कोटाबाट तीनैजनालाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖