• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपले सफाई पाउँछन्, विश्वकप खेल्ने सम्भावना जीवित छ : क्यान अध्यक्ष चन्द


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्ने संघारमा छँदा सामाजिक सञ्जाल भने सन्दीप लामिछानेमय बनेको छ । विचाराधीन मुद्दाका कारण सन्दीप विश्वकप खेल्ने टोलीमा अटाउन नसकेका कारण समर्थकहरुले चर्को आक्रोश र निराशा पोखिरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द भने सन्दीपले विश्वकप खेल्ने सम्भावना समाप्त भइनसकेको बताउँछन् । यदि अदालतले समयमै फैसला गरेर सफाइ दिएको खण्डमा सन्दीपलाई अझै विश्वकपमा समेट्न सकिने उनको विश्वास छ ।

सन्दीपको निर्दोषिताप्रति पनि चन्द आश्वस्त देखिन्छन् । उनी भन्छन् सन्दीपले सफाई पाउनेमा म चै पूर्ण आशावादी छु । पहिलेदेखि नै यही भनिरहेको छु । यद्यपि, अदालतमा विचाराधीन मुद्दामा आफूहरुले केही गर्न नसक्ने उनले बताए । ‘अदालतले दूधको दूध पानीको पानी छुट्याएर चाँडो फैसला गरोस् भन्ने चाहन्छौं’, चन्दले भने, ‘छिटो फैसला होस् भनेर कामना गरेर बसिराख्या छौं ।’

चन्दले विश्वकपमा नेपालले दोस्रो चरणसम्मको यात्रा तय गर्ने आशा व्यक्त गरेका छन् । उनले सन्दीप नहुँदा हाम्रो टीममा भन्दा विपक्षी टीमलाई चाहिँ मनोवैज्ञानिक फाइदा मिल्ने बताए । सन्दीप हुँदाखेरि अरु टीमहरु अलिकति डराउँछन् । त्यसको फाइदा नेपाली टीमलाई हुन्थ्यो । सन्दीप छैनन् भने चाहिँ ढुक्क भएर खेल्न सक्ने स्थिति हुन्छ उनले भने ।

आईसीसीले सन्दीपलाई खेलाउन मान्छ त ? भन्ने प्रश्नमा उनले भने, अहिले टीममा भएका १५ जनामध्ये कोही घाइते भयो भने हामीले रिप्लेस गर्न सक्छौं । त्यसका लागि एउटा समयसीमा हुन्छ । आईसीसीको टेक्निकल कमिटीको अनुमतिमा गर्न पाइन्छ । सन्दीपको पक्षमा निर्णय भयो भने भिसाको समस्या हुँदैन, तत्कालै लैजान सकिन्छ । निर्दोष व्यक्तिलाई खेलाउन आईसीसीले अनुमती दिन्छ ।

सन्दीपले सफाइ पाउलान् भन्नेमा व्यक्तिगत रुपमा कति आशावादी हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, म त सधैं आशावादी हो । पहिलेदेखि नै मभन्दा अरु कोही थियो र आशावादी ? नेपाली क्रिकेटमा सन्दीपको योगदान र आवश्यकता मैले राम्ररी बुझेको छु ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖