धनुषा । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि निम्तिएको विवाद साढे १३ लाख रुपैयाँ लेनदेनमा मिलेको छ ।
शनिबार राति सुत्केरी व्यथा लागेपछि भर्ना भएकी धनुषा लक्ष्मीनिया गाउँपालिका ५ बनिनियाकी २७ वर्षीया अनिताकुमारी यादवको सोमबार बिहान ९ बजे मृत्यु भएको थियो ।
शल्यक्रियामा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतकको परिवारले सोमबार बिहान ९ बजेदेखि अस्पतालमा तोडफोड गरेका थिए । त्यस क्रममा प्रदर्शनकारीले अस्पतालको मूलगेटमा टायर बालेर प्रदर्शन गर्नुका साथै अस्पताल तोडफोड गरेका थिए ।
मृतकका आफन्त वीरेन्द्र यादवका अनुसार आइतबार बिहान ११ बजे शल्यक्रियाबाट अनिताले छोरा जन्माएकी थिइन् । शल्यक्रियामा चिकित्सकले लापरबाही गर्दा अवस्था बिग्रिँदै गएर सोमबार बिहान अनिताको मृत्यु भएको यादवको भनाइ छ ।
शल्यक्रियाको बेला एनेस्थेसियाका चिकित्सक नभई सिकारुले बेहोस गरेकाले विस्तारै अवस्था गम्भीर हुँदै मृत्यु भएको परिवारजनको आरोप छ । घटनापछि अस्पतालमा तोडफोड र आन्दोलनको कारण सोमबार अपराह्नसम्म अवस्था तनावग्रस्त बनेको थियो ।
