• Saturday 24th of October 2026

एकीकृत समाजवादी बैठक : राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ।

ललितपुरको बालकुमारीमा मंगलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्न १२ वटा समूह बनाइएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए।

पार्टीका नेता साध्यबहादुर भण्डारीले पेस गरेको पूरक प्रतिवेदनमा राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने माग गरिएको छ।

राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन्। देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ।

समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, अन्तर्राष्ट्रिय अभ्यास, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय समावेश छन्। विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ।

सांगठनिक दस्तावेजमा देशभर पार्टी संगठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त संगठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन्। समूहगत छलफलबाट आएका निष्कर्षलाई टोलीनेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।

पार्टीले आगामी असार १६ देखि २० गते काठमाडौंमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ। नेता गौतमका अनुसार यस विषयमा पनि केन्द्रीय कमिटी बैठकमा आज छलफल गरिने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖