काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) ले कर्मचारी आफैँले गाडी चलाएमा ड्राइभरको तलब पनि आफैँले पाउने गरी ल्याउन लागिएको नयाँ निर्देशिकाको प्रस्तावप्रति आपत्ति जनाएकी छन् । यस प्रकारको व्यवस्थाले श्रमजीवी वर्गको रोजगारी खोसिने र यो कुनै पनि हालतमा स्वीकार्य नहुने उनकाे भनाइ छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले ´सरकारी कर्मचारीहरूको सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार गरेकाे छ । उक्त मस्याैदामा ड्राइभरकाे तलव पनि कर्मचारीलाई खप्टिने खालकाे व्यवस्था राखिएकाे नेपाल प्रेसले सार्वजनिक गरेकाे थियाे । रास्वपा सांसद संग्राैलाले फेसबुकमार्फत उक्त समाचारमा प्रतिक्रिया जनाएकी हुन् ।
उनले लेखेकी छन्, `यदि यो सत्य हो भने यो नियम कसै गरे पनि ठीक छैन ! जागिर खाइरहेको व्यक्तिको रोजगारी खोसेर हुँदैन । त्यो ड्राइभरले पाउने तलब उसैले पाउनु पर्छ ।´
उनी थप्छिन्, `उसो भए सांसदले पनि स्वकीय नराखी आफैँ गर्छु, आफैँ खान्छु भन्न थाले भने के हुन्छ ? नियम पनि चाहिंदो बनाउनु पर्छ ।´
वर्तमान सरकारलाई नागरिक मैत्री वातावरण बनाउन संग्राैलाले सुझाव दिएकी छन् ।
`जनमुखी सरकारले नागरिक मैत्री वातावरण बनाउने पो हो त ! गरिब निमुखाको रोजीरोटी खोसेर कर्मचारी मात्र पोस्ने काम मलाई चाहिँ ठीक लागेन ।´
उनले यो नीतिले तल्लो तहका श्रमजीवी र सवारी चालकहरूको रोजगारी र जीविकोपार्जनमा सिधा प्रहार गर्ने उल्लेख गर्दै यस विषयमा आम नागरिक तथा सरोकारवालाहरूको प्रतिक्रिया समेत माग गरेकी छन् । सरकारले प्रशासनिक खर्च कटौती गर्ने नाममा ल्याउन लागेको यो नयाँ प्रस्तावको यतिबेला सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।
