• Friday 23rd of October 2026

भेटिए घरभित्रै श्रीमान् मृत, श्रीमती घाइते अवस्थामा फेला


  • धनकुटा खबर
  • .

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ भावना मार्गमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् भने उनकी श्रीमती घाइते अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान करिब १ः४५ बजे ४५–४६ वर्षीय शंकर कार्की घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनकी ४० वर्षीया श्रीमती चरिमाया कार्की भान्साकोठामा घाइते अवस्थामा फेला परेकी थिइन्।

प्रारम्भिक विवरणअनुसार श्रीमान्–श्रीमतीबीच विवाद भएको र त्यसपछि फोन सम्पर्क हुन नसकेको खबर महिलाको माइती पक्षबाट पुरुषकी दिदी भवानी महतलाई पुगेको थियो। त्यसपछि उनी भाइको घरमा पुग्दा घरको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा भेटिएको थियो।

शंका लागेपछि स्थानीयलाई खबर गरिएको र स्थानीयमार्फत प्रहरीलाई जानकारी पुगेको थियो। प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीय तथा मृतकका दिदीभिनाजुको रोहबरमा दोस्रो तलामा रहेको घरको ढोका फोडेर हेर्दा शंकर झुण्डिएको अवस्थामा र उनकी श्रीमती घाइते अवस्थामा फेला परेकी थिइन्।

घाइते चरिमायाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो। थप उपचारका लागि उनका छोराले चितवन लगेका छन्।

प्रहरीका अनुसार घटनास्थलमा रगत लागेको अवस्थामा ढुङ्गाको लोहोरो र इँटा फेला परेका छन्। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली खटिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको टोलीले पनि घटनास्थल तथा अस्पतालमा आवश्यक अनुसन्धान गरेको छ।

घटनास्थल सुरक्षित राखी आवश्यक मुचुल्का तयार गर्ने तथा शवलाई सरकारी अस्पताल लैजाने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

घटना हुँदा घरमा श्रीमान्–श्रीमती मात्रै रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनाको कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖