• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकपमा टस नजितेको नेपाल…


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता जनाउँदै छ । २०१४ मा बंगलादेशमा भएको पाँचौ संस्करणको विश्वकपमा सहभागीता जनाईसकेको नेपालले दश वर्ष पछि विश्वकप खेल्ने अवसर दोहोर्याउदै छ ।

पहिलो पटकको सहभागीता नेपालका लागि धेरै किसिमले ऐतिहासिक रहेको थियो । त्यस विश्वकपमा तीन खेल खेल्दै दुई जित निकालेको नेपाल रनरेट बाधक बन्दा अर्को चरणमा जानबाट बञ्चित भएको थियो । नेपालले पहिलो सहभागीताको विश्वकपमा खेलेका तीनै खेलमा टस हारेको थियो । र, तीनै खेलमा पहिले ब्याटिङ गरेको थियो ।

१६ मार्चमा हङकङसँग भएको पहिलो खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै १ सय ४९ रन बनाएको थियो । हङकङलाई ६९ रनमा अल आउट गर्दै नेपालले खेल ८० रनले जितेको थियो ।

१८ मार्च २०१४ मा घरेलु टोलीविरुद्ध पनि नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १ सय २६ रनको योगफल बनाएको थियो । नेपालले दिएको १ सय २६ रनको लक्ष्य बंगलादेशले १५ दशमलब ३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

२० मार्च २०१४ मा अफगानिस्तानविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १ सय ४१ रनको योगफल बनाएको थियो । नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा १ सय ३२ रन मात्र बनाउँन सक्यो । र, नेपालले खेल ९ रनले जित्न सफल भयो ।

विश्वकपमा नेपाल

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖