काठमाडौं । काठमाडौंमा भोलि (आइतबार) र पर्सि (सोमबार) वर्षाको सम्भावना छ । देशका अरू केही भूभागसहित काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा भोलि साँझ र राति वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “काठमाडौंमा भोलि अपराह्नपछि वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “साँझ र राति वर्षाको सम्भावना देखिन्छ । हल्का वर्षा हुनसक्छ ।”
भोलि कोसी, मधेस, गण्डकी, वाग्मती, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि वर्षाको सम्भावना रहेको उनले स्पष्ट पारे । यी प्रदेशका पहाडीसँगै तराई भूभागमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताए ।
“रेनफल (वर्षा)को सम्भावना छ । विशेष गरी भोलि साँझ र राति वर्षाको सम्भावना छ,” उनले भने, “मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”
पर्सि (सोमबार) पनि काठमाडौंसहित देशका विभिन्न स्थानमा आइतबारकै जस्तो वर्षाको सम्भावना रहेको उनले बताए ।
शनिबार झापा, मोरङ, दोलखा, कास्की, पर्वत, प्युठान, अर्घाखाँचीलगायत स्थानमा वर्षा भएको उनले जानकारी दिए ।
हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । पूर्वी भूभागमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको पनि असर देखिएको उनको भनाइ छ ।
“अहिले अरू क्षेत्रका लागि स्थानीय वायु र पश्चिमी वायु नै हो । स्थानीय वायु अलि सक्रिय देखिन्छ,” उनले भने, “पूर्वी क्षेत्रमा भने बंगालको खाडीको जलवाष्पयुक्त हावाको पनि असर परेको देखिन्छ ।”
