• Tuesday 20th of October 2026

हम्मरले टाउकोमा हानेर पतिपत्नीको हत्या, घरभित्रै भेटियो दुवैको शव


  • धनकुटा खबर
  • .

काभ्रेको महाभारतमा पतिपत्नीको हत्या भएको छ। उनीहरुको हत्या कसले र किन गर्यो खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार महाभारत गाउँपालिका-४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बल मंगलबार साँझ घरभित्रै मृत फेला परेका हुन्।

टाउकोमा हम्मरले हानेर उनीहरुको हत्या गरेको अवस्थामा शव फेला परेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। प्रहरीले भने हत्याको पुष्टि गरे पनि घटनाको विस्तृत विवरण खुलाएको छैन।

बल दम्पतीले गाउँमा पसल सञ्चालन गर्दै आएका थिए। उनीहरु दुईजना मात्रै जस्ताले बारेको र जस्ताले नै छाएको घरमा बस्दै आएका थिए।

‘पतिको शव पसल रहेको कोठामा र पत्नीको शव भान्सा कोठामा फेला परेको हो,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले नेपालखबरसँग भने, ‘पत्नीको शव रहेको कोठामा बाहिरबाट र पतिको शव रहेका कोठामा भित्रबाट चुकुल लगाएको पाइएको छ।’

बल दम्पतीका तीन छोरा र एक छोरी छन्। तर उनीहरु काठमाडौँमा बस्दै आएका स्थानीयले बताएका छन्।

घटनापछि इलाका प्रहरी कार्यालय देवीटार, प्रहरी चौकी फोक्सिङटारको प्रहरी टोली मंगलबार साँझ घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा र इलाका प्रहरी कार्यालय मङ्गलटारबाट पनि प्रहरी टोली घटनास्थलमा अनुसन्धानको लागि पुगेको थियो।

मंगलबार दिउँसो बल दम्पती स्थानीयबासीले गर्ने ठाकुर पूजामा सहभागी नभएपछि उनीहरुको हत्या भएको खुलेको हो।

उनीहरु पूजास्थलमा नआएपछि छिमेकीले पूजामा किन आएन भनेर फोन गरेका थिए। फोन नउठेपछि पूजा गरिएको बोकाको मासुको भाग लिएर छिमेकी उनीहरुको घरमा जाँदा बल दम्पतीको हत्या भएको खुलेको हो।

उनीहरुको हत्या सोमबार राति नै भएको आशंका स्थानीयले गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖