काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई टि ट्वान्टी विश्वकपको लागि अमेरिकाको भिसा दिलाउन कुटनीतिक पहल हुने भएको छ।
युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने भएको हो । सन्दीपलाई बुधबार अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन ।
सन्दीपले सामाजिक सन्जालमा स्ट्याटस लेखेर आफूलाई भिसा दिन दूतावासले अस्वीकार गरेको बताएका थिए ।
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यान (क्यान) का सचिव पारस खड्कासँगको कुराकानीपछि मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भीसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको छ।
मन्त्री श्रेष्ठले सन्दीपको भीसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको र अझै आवश्यक किसिमको सहयोग गर्ने बताएका छन्।
विश्व कप जुन १ मा सुरु हुनेछ। नेपाली टोली अमेरिकाको ह्युस्टनमा तयारी गरिरहेको छ। शुक्रबार र शनिबार ह्युस्टन हुरिकेन्ससँग दुई अभ्यास खेलपछि टोली ड्यालास पुग्ने बताइएको छ।
