• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रतिश जिसी- नेपालको फास्ट बलिङमा अविनाश, सोमपाल र करणका विकल्प


  • धनकुटा खबर
  • .

काठमाडौं। गत अक्टोबरमा नेपालले आईसीसी टी-२० विश्वकपको एसियाली छनोट घरेलु मैदानमा खेल्दै थियो। त्यसको पूर्व सन्ध्यामा नेपाल, यूएई र हङकङले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेका थिए। सुरुका दुई खेल जितेको नेपालले तेस्रो खेलमा हङकङसँग खेल्नुपर्ने थियो।

अघिल्लो खेलमा मात्र नेपालले हङकङलाई ९४ रनमा अलआउट गरेर ६ विकेटको जित हात पारेको थियो। तेस्रो खेलमा प्रतिश जिसीलाई टी-२० अन्तर्राष्ट्रियको डेब्युका लागि मौका दिइयो।

उनले अविनाश बोहराको ठाउँ लिएका थिए। पहिला ब्याटिङ गरेको नेपालले २ सय १४ रनको विशाल लक्ष्य दिएको थियो। हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३४ रन मात्र जोड्न सक्यो। प्रतिसले डेब्यु खेलमै विकेट लिए।

चारै ओभर बलिङ गरेका उनले ३० रन खर्चिएर एक विकेट लिएका थिए। उक्त शृङ्खलाका बाँकी खेल र विश्वकप छनोटमा भने उनले खेल्ने अवसर पाएनन्।

सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको झन्डै एक वर्षमा नेपालका प्रतिसले आईसीसी टी-२० विश्वकपमा सहभागी हुने अवसर पाएका छन्।

वेस्ट इन्डिज र अमेरिकामा जुन १ देखि सुरु हुने विश्वकपका लागि घोषणा गरिएको १५ सदस्यीय नेपाली टोलीमा प्रतिशको नाम समावेश थियो।

२० वर्षीय जिसी विश्वकप खेल्न अमेरिका पुगेका छन्। फास्ट बलर जिसीले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०२३ को फेब्रुअरीमा पपुआ न्युगिनीविरुद्ध खेल्दै डेब्यु गरेका थिए।

त्यो एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल थियो। टी-२० अन्तर्राष्ट्रिय खेल्न थालेको झन्डै ८ महिनापछि उनी सोही फर्म्याटको विश्वकप खेल्दैछन्।

नेपाली टोलीको फास्ट बलिङको नेतृत्व झन्डै एक दशकयता सोमपाल कामी र करण केसीले गर्दै आएका छन्। उनीहरू ब्याटिङ पनि राम्रो गर्न सक्ने भएकाले अन्य फास्ट बलरलाई प्लेइङ सेटमा स्थान बनाउन सजिलो छैन।

विश्वकप लिग-२ को पहिलो शृङ्खला खेल्न आएको नामिबिया र नेदरल्यान्ड्ससँग गत मार्चमा नेपालले टी-२० शृङ्खला पनि खेलेको थियो। त्यस शृङ्खलाका ३ खेल उनले खेल्न अवसर पाए।

नेदरल्यान्ड्सविरुद्धको एक खेलमा प्रतिसले शानदार बलिङ गरेका थिए। उनले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिएका थिए। त्यसमा एक मेडन पनि समावेश थियो।

उक्त शृङ्खलामा प्रतिशसहित नेपालबाट चारै जना फास्ट बलिङ स्पेसलिष्ट सोमपाल कामी, अविनाश बोहरा र करण केसीलाई प्राय खेलमा एकसाथ उतारिएको थियो।

ब्याटिङ अलराउन्डर रहेका अर्का फास्ट बलर गुल्सन झाले टोलीमा रहेर पनि बलिङ गरेका थिएनन्। त्यसपछि हङकङमा भएको हङकङ, पपुआ न्युगिनी र नेपाल सम्मिलित शृङ्खलामा पनि प्रतिसले चार खेल खेल्ने अवसर पाए। उक्त शृङ्खलामा करण, सोमपाललगायत केही सिनियर खेलाडीलाई आराम दिइएको थियो। प्रतिसले चार खेलमा ३ विकेट लिएका थिए।

त्यसपछि एसीसी प्रिमियर कपमा उनले साउदी अरबविरुद्ध मात्र खेल्ने अवसर पाए। त्यस खेलमा एक ओभर बलिङ गरेका उनले १० रन दिएर एक विकेट हात पारे।

वेस्ट इन्डिज ए नेपाल आएका बेला उक्त टोलीसँग प्रतिसले तीन खेल खेल्ने मौका पाए। उनले आफूले खेलेको पहिलो खेलमा ३ ओभरमा २८ रन दिएका थिए भने दोस्रो खेलमा ४ ओभरमा ४३ रन खर्चिएर एक विकेट लिए। तेस्रो खेलमा उनले ३ ओभरमा २२ रन खर्चिएका थिए। उक्त शृङ्खला भइरहेकै बेला विश्वकपका लागि नेपाली टोलीको घोषणा गरिएको थियो।

प्रतिसले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३ खेल खेल्दै २ विकेट लिएका छन् जसमा उनको बलिङ इकोनोमी ४.२८ छ।

उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १० खेलमा ८ विकेट हात पारेका छन् । बलिङ इकोनोमी ८.०८ छ। ब्याटिङतर्फ भने उनले आफ्नो अलराउन्ड क्षमता देखाउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖