काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा आइतबार बिहानबाट नवौं संस्करणको टी-२० विश्वकपमा एक खेल आज नै रहेको छ । विश्वकपको दोस्रो खेलमा समूह सी मा रहेका पपुवा न्यु गिनी (पीएनजी) र सह-आयोजक वेस्ट इन्डिजबीच खेल हुदैछ । यस खेल नेपाली समय अनुसार आइतबार बेलुका सवा आठमा वेस्ट इन्डिजको गुयनामा हुदैछ ।
दुई पटकको च्याम्पियन वेस्ट इन्डिज २००७ बाट सुरु विश्वकपका हरेक संस्करणमा सहभागी रहदै आएको छ । २०२१ को सातौं संस्करणको टी-२० विश्वकपमा सहभागी पीएनजीको यो दोस्रो विश्वकप सहभागीता हो । पीएनजी र वेस्ट इन्डिज कुनै पनि क्रिकेट फर्म्याटमा पहिलो पटक एक आपसमा भिड्दै छन् ।
नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए मा क्यानडा र अमेरिकाका अलावा भारत, पाकिस्तान र आयरल्यान्ड तथा समूह बी मा अस्ट्रेलिया,इंग्ल्यान्ड,स्कटल्यान्ड,नामिबिया र ओमान छन् ।
समूह सी मा वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी तथा समूह डीमा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् ।
सुपर आठमा पनि दुई समूह हुनेछ । यसका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ । विश्वकपमा नेपालको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ मा रहेको छ ।
यस्तै, विश्वकपको उद्घाटन खेलमा क्यानडाविरुद्ध अमेरिकाले विजयी सुरुवात गरेको छ ।
