काठमाडौं । आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा नेपालले चार खेलसम्म ‘वाइड’ नफ्याकी बलिङ गरेको छ । ट्वान्टी–२० विश्वकप–२०२४ अन्तर्गत मंगलबार भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले निराश भए पनि नेपालले उक्त खेलमा डच टिमलाई वाइडबाट एक रन पनि अतिरिक्त दिएन ।
मंगलबार डच टिमविरुद्ध नेपालका ६ बलरले बलिङ गरेका थिए । खेलमा नेदरल्यान्ड्सले दुई रन अतिरिक्त पाएको थियो । तर, उक्त दुई रनमध्ये एक रन लेग बाई र अर्को एक रन ‘नो बल’को थियो ।
१० वर्षपछि विश्वकपको मञ्चमा प्रदर्शन गरिरहेको नेपालले हालसम्म खेलेका चार खेलमध्ये कुनै पनि खेलमा वाइड बल फ्याकेको छैन । यसअघि सन् २०१४ मा नेपालले तीन खेल खेले खेलेको थियो । विश्वकपको उक्त संस्करणमा नेपालले अफगानिस्तान, बंगलादेश र हङकङविरुद्ध प्रतिस्पर्धा गरेको थियो । उक्त संस्करणमा नेपालले हङकङविरुद्ध एक, बंगलादेशविरुद्ध दुई र अफगानिस्तानविरुद्ध पाँच अतिरिक्त रन खर्चिएको थियो । तर, त्यसमध्येको कुनै पनि अतिरिक्त रन वाइड बलबाट आएका थिएनन् ।
हाल अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालले जुन १२ मा श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेल खेल्दै छ । नेपालले विश्वकपमा जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।
