काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलिका सदस्य सोमपाल कामीले नेदरल्याण्ड्सविरुद्धको खेलमा दर्शकलाई खुसी दिन नसकेको बताएका छन् । उनले अब हुने अर्को खेलमा नेदरल्याण्डसँगको जस्तो गल्ती नदोहोर्याउने पनि बताए ।
अमेरिकाको ग्राण्डप्रेरी कम्प्लेक्समा मंगलवार आइसीसी टी २० पुरुष विश्व कप क्रिकेट अन्तर्गत नेदरल्याण्ड सँगको खेलमा ६ विकेटले पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा सोमपालले भने, ‘हामीले नेपाली समर्थकलाई खुसी दिन सकेनौँ।’
सोमपालले राम्रो लक्ष्य दिन नसकेको स्वीकार पनि गरेका छन् । ‘यस्तो कन्डिसनमा टसले धेरै नै भूमिका खेल्छ। तर पनि हाम्रो हातमा टस नियन्त्रण थिएन। हामीलाई पहिला ब्याटिङको निम्तो भएपछि हामीले यो विकेटमा जति सक्दो धेरै रन बनाउने जिम्मेवारी हुन्छ। तर हामीले राम्रो लक्ष्य दिन सकेनौँ।’ उनले भने, ‘तर ब्याटिङ सजिलो भने थिएन। यो विकेटमा ब्याटिङ गर्न कहीँ न कहीँ गाह्रो थियो। कन्डिसन पनि त्यस्तै थियो। २०-३० रन कम भएको मलाई लाग्छ। त्यो रन बनाउन सकेको भए हाम्रो पक्षमा लय आउँथ्यो।’
यसैगरी पटक पटकको क्याच मिस हुनुलाई खेलको टर्निङ्ग प्वाइन्ट भन्न नमिल्ने तर अर्को खेलमा गल्ती नदोहोर्याउने बताए । उनले पहिलो खेलबाट आफूहरू कुनै दबाबमा नपरेको पनि बताए।
सोमपालले जित्ने अपेक्षा गरिएको खेलमा राम्रो गर्न नसकेको भने स्वीकार गरे। ‘यो खेल जित्ने अपेक्षा थियो। यसमा हामीले राम्रो गर्न सकेनौ।’ उनले भने,’ हाम्रा समर्थकहरू हामीले जितेको हेर्न चाहनुहुन्छ। हामी पनि जित्न प्रायस गर्छौँ। हजारौँ दर्शक यहाँ आउँदा धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले खुसी दिन सकेनौँ। तर हामीले शतप्रतिशत दिएका थियौँ। हामी बाँकी खेलमा ठुला टोलीलाई हराएर खुसी पनि दिनेछौँ।’
उनले दर्शकको समर्थककै कारण आफूहरू यो स्थान सम्म आइपुगेको पनि बताए। ‘नेपाल बाहिर यति धेरै दर्शन आउँदा धेरै उत्साह हुन्छ। समर्थकको विश्वासले यहाँसम्म आइपुगेका हौँ। विगत दश वर्षदेखि खेलिरहेको छु। उहाँहरूको विश्वासले यहाँ आएका हौँ। अब बाँकी खेलमा राम्रो खेलेर जितेर नेपालीलाई गर्व गराउनेछौँ।’
अर्का खेलाडी करण केसीले खेलमा साना साना गल्ली गर्न पुगेको स्वीकार गरे । ‘यो विकेट मध्यम गतिका बलरका लागि राम्रो छ। त्यहीँ भएर हामीले चार जना मध्यम गतिका बलर लिएर खेल्यौँ। तर हामीले खेलमा स-सना गल्तीहरू गर्न पुग्यौँ।’ केसीले भने, ‘तर हामी यहाँ हामी बलिङ र ब्याटिङ गर्न सक्छौँ भन्ने प्रमाणित गर्न आएका हौँ।’
