काठमाडौं— आईसीसी टी२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानले पहिलो बलिङ गर्ने भएको छ।
आइतबार न्युयोर्कमा हुने खेलका लागि भएको टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले फिल्डिङ रोज्दै भारतलाई ब्याटिङको निम्तो दिएका हुन्। वर्षाका कारण ओसिलो मैदान भएपछि खेलको टस करिब १५ मिनेट ढिलो भएको हो।
प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो। यसअघि पहिलो खेलमा सहआयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ।
पहिलो खेलमा आयरल्याण्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ।
भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ। पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ मा पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ।
