• Friday 9th of October 2026

विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिजमा


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप वेस्ट इन्डिज पुगेर नेपाली टोलीमा समावेश हुनेछन्।

यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो।
तर अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले गत जुन ४ मा अमेरिकाको डलासमा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएको थिए। साथै जुन ११ मा अमेरिकाकै फ्लोरिडास्थित लाउडरहिलमा श्रीलंकाविरुद्धको खेल गुमाउँदैछन्।

क्यानका पदाधिकारीका अनुसार सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन्।
उनी वेस्ट इन्डिज पुगेपछि मात्र क्यानले आधारिकारिका विज्ञप्ति जारी गरेको छ। उनी वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुगेका हुन्। सेन्ट भिसेन्टको राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार टी-२० विश्वकप अवधिभरका लागि नेपालीका लागि भिसा लिन नपर्ने व्यवस्था गरिएको छ।

क्यानले सन्दीप कुन बाटो भएर वेस्ट इन्डिज पुगेको विषयमा भने खुलाएको छैन।क्यानका अनुसार सन्दीपको नाम सामवेश गर्दै तीव्र गतिका युवा बल प्रतिश जिसीलाई टाभलिङ रिजर्भमा राखिएको छ।

‘सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेश गरेको थियो,’ क्यानको भनाइ छ, ‘गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल टिममा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आइसिसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं।’

नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल हारेको नेपालले श्रीलंकासँग आगामी बुधबार विहान खेलेपछि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग जुन १४ र बंगलादेशसँग जुन १६ मा खेल्नेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖