• Friday 9th of October 2026

नेपालका कप्तान रोहितले गरे श्रीलंकालाई हराउने संकेत


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार विहान सवा पाँच बजे) श्रीलंकासँग खेल्दैछ। समूह ‘डी’ मा नेपाल र श्रीलंका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।

नेपालले अमेरिकाको डालासमा नेदरल्यान्ड्सविरूद्धको पहिलो खेल ६ विकेट गुमाएको थियो। श्रीलंकाले भने सुरूवाती दुवै खेलमा पराजय भोगेको छ। श्रीलंकालाई पहिलो खेलमा दक्षिण अफ्रिकाले ६ विकेट र दोस्रो खेलमा बंगलादेशले २ विकेटले पराजित गरेको थियो।

दुवै खेलमा श्रीलंकाले खराब ब्याटिङ गरेको थियो। दक्षिण अफ्रिकासँग न्युयोर्कमा ७७ रनमा अलआउट भएको श्रीलंका डालासमा बंगलादेशसँग १२४ रन मात्र जोड्न सकेको थियो।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सविरूद्ध १०६ रन मात्र जोड्न सक्यो। दुवै टोलीलाई ब्याटिङमा समस्या देखिएको छ। श्रीलंकासँग खेल्नुअघि नेपालका कप्तान रोहितकुमार पौडेलले अमेरिकाको तीन स्थानको मैदान र कन्डिसन फरक भएको बताए। साथै श्रीलंकासँगको खेलमा दबाब नभएको पनि बताए।

‘भोलिको खेलमा हामीलाई भन्दा पनि श्रीलंकालाई दबाब छ। पहिलो खेल जित्न सकेनौं, तर अब दोस्रो खेल जित्न सक्छौं भन्ने विश्वास छ,’ उनले भने। उनले नेदरल्यान्ड्सविरूद्धको खेलपछि एक साता तयारी गर्न पाएको बताउँदै फ्लोरिडाको ब्रोवार्ड काउन्टी रंगशाला लाउन्डरहिलमा राम्रो खेल खेल्ने विश्वास गरे।

‘नेदरल्यान्ड्सविरूद्ध हारपछि हामीलाई पर्याप्त तयारी गर्ने समय मिल्यो। हामीले यो मैदानमा चार-पाँच नेट सेसन गर्न सफल भयौं,’ उनले भने।उनले एसोसिएट देशले टेस्ट टोलीलाई पराजित गर्दा नेपाली टोलीलाई पनि प्रेरणा मिलेको बताए। जारी विश्वकपमा अमेरिकाले पाकिस्तान र क्यानडाले आयरल्यान्डलाई हराएका थिए।

‘जारी विश्वकपमा एसोसिएट देशले टेस्ट प्लेइङ देशलाई पराजित गरिरहेका छन्। यो हाम्रा लागि उत्प्रेरणा हो। हामी पनि भोलिको खेलमा जितका लागि खेल्दैछौं। त्यसका लागि एक महिनादेखि यहाँ आएर तयारी गरिरहेका छौं। हामी टोलीको रुपमा एकअर्कालाई विश्वास गर्छौं,’ रोहितले भने, ‘तर पनि श्रीलंका राम्रो टोली हो। उसले संसारभर क्रिकेट खेलेको छ। विशेषगरी उसका स्पिनर राम्रा छन्।’ उनले श्रीलंकाविरूद्धको खेल हाइ स्कोरिङ हुने विश्वास समेत व्यक्त गरे।

‘फ्लोरिडामा भएको वार्मअप खेलमा १८० रनसम्म बनेको छ। भोलिको खेल पनि हाइ स्कोरिङ र राम्रो खेल हुने विश्वास छ। यहाँ भारत र वेस्ट इन्डिजको खेल भइसकेको छ। अरु मैदानभन्दा यहाँ रन बन्ने विश्वास छ। यहाँ राम्रो विकेट देखिएको छ,’ उनले भने, ‘क्षमता देखाउन सक्यौं भने कुनै पनि टोलीलाई हराउन सक्छौं भन्ने हाम्रो टोलीलाई विश्वास छ। यहाँको मैदानमा जुन ब्याटरले सुरुदेखि खेल्न सक्छ उसले त्यसलाई अघि लैजान पर्छ।’

खेल र मैदानको अवस्था हेरेर श्रीलंकाविरूद्धको खेलमा टोली चयन हुने पनि उनले बताए। डालासमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दा झन्डै सात हजार नेपाली समर्थक टिकट काटेर रंगशालामा उपस्थित भएका थिए। भोलि फ्लोरिडाको मैदानमा पनि हजारौं समर्थक उपस्थित हुने उनले विश्वास गरे।

‘हजारौं फ्यानका अघि खेल्दा धेरै खुसी लाग्छ। देशबाहिर पनि यति धेरै समर्थनका पाउनु हाम्रो लागि फाइदाको कुरा हो। हामी समर्थकलाई खुसी र गर्व गर्न लायक बनाउन खेल्नेछौं,’ उनले भने, ‘भोलिका लागि हामी पहिलो जितका लागि खेल्नेछौं।’

भोलिको खेलमा नेपाली टोलीमा १४ खेलाडी मात्र उपलब्ध हुने रोहितको भनाइ छ। नेपालको १५ सदस्यीय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगिसकेका छन्। अमेरिकाले भिसा अस्विकार गरेपछि सन्दीपले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल मात्र खेल्नेछन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖