काठमाडौँ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै नेदरल्यान्ड्सले युरो २०२४ मा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ गोलले हराएको हो ।
खेलमा अग्रता भने पोल्यान्डले लिएको थियो । एडम बुक्साले १६ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, २९ औँ मिनेटमा कोडी गाक्पोले नेदरल्यान्ड्सका लागि बराबरी गोल फर्काए ।
खेल बराबरी तर्फ अघि बढिरहँदा खेलको ८३ औँ मिनेटमा वोउट वेगहोर्स्टले गोल गर्दै डच टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । समूह डीमा दुई टोलीसहित फ्रान्स र अस्ट्रिया रहेका छन् ।
