• Friday 9th of October 2026

भोलि बंगलादेश बिरुद्द नेपाललाई दश वर्षअघिको हारको बदला लिने सुनौलो अवसर


  • धनकुटा खबर
  • .

आइसिसी विश्वकप क्रिकेट-२०२४ अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ।

अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। तर बङ्गलादेशका लागि भने निकै महत्त्वपूर्ण मानिएको छ।

समूह ‘डी’ बाट दक्षिण अफ्रिका आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ। अब समूह ‘डी’ बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्न बाँकी छ।

नेपाललाई पराजित गरेमा बङ्गलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ। अङ्क तालिकामा बङ्गलादेशको चार अङ्क छ।

विश्वकपमा एक अङ्क बटुलेको श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिसकेको छ। नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ। नेदरल्यान्ड्स दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ। नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेल पनि भोलि नै हुनेछ।

भोलिको खेलमा नेपाललाई बङ्गलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ। नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा बङ्गलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

विश्वकपमा नेपालले यसअघि खेलेको तीन खेलमा दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक-एक अङ्क बाँडेका थिए। त्यस्तै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा नेपाल एक रनले पराजित भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖