टी२० विश्वकप २०२४ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल २१ रनले पराजित भएको छ। टस जितेर सुरुमा फील्डिङ गरेको नेपालले बाङ्ग्लादेशलाई १०६ रनमा अलआउट गर्दा नेपालका समर्थकहरू आशावादी भएका थिए। तर दोस्रो इनिङ्समा नेपालले अपेक्षित ब्याटिङ गर्न सकेन र १९.२ ओभरमा ८५ रनमै अलआउट भयो।
योसँगै नेपालको यसपालिको विश्वकप यात्रा जितबिना समाप्त भएको छ। यसअघि विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा नेपालले १ अङ्क पाएको थियो।
दक्षिण अफ्रिकासँगको तेस्रो खेलमा विजयको नजिक पुगे पनि नेपालले १ रनले उक्त जित गुमाएको थियो। बाङ्ग्लादेशले हालसम्म समूह चरणका ४ खेलमध्ये ३ जितेको छ र १ मा हार बेहोरेको छ।
विश्वकपको सुरुआतदेखि नै नेपाली कप्तान रोहित पौडेलले टेस्ट राष्ट्रलाई पराजित गर्ने लक्ष्य रहेको बताउँदै आएका थिए।दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल जितको नजिक पुगेर पनि एक रनले पराजित हुँदा त्यो सपना अधुरो हुन पुगेको थियो।
बाङ्ग्लादेशसँगको खेलमा पनि नेपालको त्यो सपना अधुरो नै भयो।जारी विश्वकपमा टेस्ट राष्ट्रलाई हराउने अमेरिका र क्यानडा मात्रै भए। अमेरिकाले पाकिस्तानलाई र क्यानडाले आयरल्यान्डलाई पराजित गरेका थिए।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले राम्रो बलिङ गर्दै बाङ्ग्लादेशलाई १९.३ ओभरमा १०६ रनमा अलआउट गरेको थियो।त्यसको जबाफमा टोली १९.२ ओभरमा अल आउट हुँदै ८५ रनमा सीमित हुन पुग्यो।
पहिलो फिल्डिङ गर्ने निर्णयलाई सही साबित गर्दै नेपालले बाङ्ग्लादेशको एकपछि अर्को विकेट लिएको थियो।सोमपाल कामीले खेलको पहिलो बलमै विकेट लिएका थिए।
बाङ्ग्लादेशका ओपनर तन्जिम हसनले गरेको प्रहार सोमपाल आफैँले समातेपछि आर्नोस भाले रङ्गशालामा उपस्थित नेपाली समर्थकहरूले सुरुदेखि रोमाञ्चित हुने अवसर पाए। उक्त ओभरको अन्तिम बलमा सोमपालले लिट्टन दासलाई एलबीडब्लूको धरापमा पारेका थिए। तर बाङ्ग्लादेशले ‘रिभ्यू’ लिएपछि लिट्टन जोगिन पुगे।
तर दोस्रो ओभरमा दीपेन्द्र सिंह ऐरीले कप्तान नजमिल हुसैन सान्टोलाई बोल्ड गर्दै विकेट लिने क्रम जारी राखे। चौथो ओभरमा सोमपालले नै लिट्टनलाई आउट गरे। स्विप शट् खेल्ने धुनमा बलमाथि उठेपछि विकेट किपर आशिफ शेखले सहजै त्यो बल समातेका थिए।
लगातार विकेट गएपछि बाङ्ग्लादेशका खेलाडिहरू दबावमा परेका थिए। नेपालले सोमवार पनि स्पीनरहरूलाई नै प्रयोगमा ल्याएको थियो। त्यस क्रममा बलिङ गर्न आएका कामचलाउ अफ स्पीनर कप्तान रोहित पौडेलले छैटौँ ओभरमा विकेट लिन सफल भए। तोहिद हरिदोयले रोहितलाई स्विप शट् खेल्न खोज्दा ‘टप एज’लागेर बल माथि उडेको थियो। त्यसलाई सन्दीप लामिछानेले क्याच लिए।
लामिछानेले अर्का खेलाडी मोहम्मदुल्लाहलाई रन आउट गर्ने काम पनि गरे। नवौँ ओभरको अन्तिम बलमा सन्दीपले फ्यालेको बलमा गुलशन झा र सन्दीपले सानदार फिल्डिङ गर्दै रन आउट बनाएका थिए। त्यस बेला बाङ्ग्लादेश ५७-५ को खराब स्थितिमा पुगिसकेको थियो।
कप्तान रोहित पौडेलले ११.४ ओभरमा बाङ्ग्लादेशका मुख्य खेलाडी सकिव अल हसनलाई एलबीडब्लूको सिकार बनाउन सफल भए। सत्र रन बनाएर इनिङ्स सम्हालिरहेका सकिवले पनि ‘रिभ्यू’ लिएका थिए। तर सफल हुन सकेनन्। नेपाल ६४ -६ को बलियो स्थितिमा पुग्यो।
चौध ओभरको पहिलो दुई बलको खेल निकै रोमाञ्चक रह्यो। पहिलो बलमा सन्दीप लामिछानेले तन्जिम हसन सकिवलाई एलबीडब्लू आउट गरेका थिए। तर रिभ्यूले फेरि एकपटक निर्णय बदल्दै नट आउट भयो।
तर त्यो जीवनदान सकिवलाई फाइदा भएन। त्यसको दोस्रो बलमा सन्दीप लामिछानेले उनलाई बोल्ड गरिदिए। योसँगै उनले टी-२०आईमा १०० विकेटको कीर्तिमान पनि बनाए।
खेलको अन्तिम ओभरको तेस्रो बलमा सन्दीपले मुस्तफिर रहमानलाई रन आउट गरेपछि बाङ्ग्लादेश १०६ रनमा समेटिन पुग्यो। बाङ्ग्लादेशसँगको खेलमा करण केसीलाई बेञ्चमा राख्दै उनको स्थानमा सन्दीप जोरालाई पहिलो ११ मा राखिएको छ। जारी विश्वकपमा जोराको यो पहिलो खेल हो। योसँगै विश्वकपमा ललित नारायण राजवंशी र कमल सिंह ऐरीले खेल्ने मौका पाएनन्।
