• Friday 9th of October 2026

रियलले मलाई ओलम्पिक्समा खेल्न दिँदैन ः एम्बाप्पे


  • धनकुटा खबर
  • .

पेरिस । फ्रान्सका स्ट्राइकर किलियान एम्बाप्पेले आफ्नो नयाँ क्लब रियल मड्रिडले आफूलाई यो वर्ष पेरिसमा हुने ओलम्पिक्समा भाग लिने अनुमति नदिएको बताएका छन् ।

२५ वर्षीय खेलाडीले ओलम्पिक्समा खेल्ने आफ्नो चाहना रहे पनि रियलले युरो २०२४ मा सहभागी हुने कुनै पनि खेलाडीले ओलम्पिक्समा खेल्न नपाउने बताएको खुलासा गरेका हुन् । यसले गर्दा गत जुन ३ मा घोषणा भएको फ्रान्सको प्रारम्भिक टोलीमा समेत उनको नाम समावेश गरिएको छैन ।

पेरिस सेन्ट जर्मेनसँगको उनको करार यही जुन ३० मा समाप्त हुँदैछ । उनले त्यसपछि रियल मड्रिडसँग अनुबन्ध हुने सहमति गरिसकेका छन् ।

‘मेरो क्लबको भनाई स्पष्ट छ, त्यही भएर म ओलम्पिक्समा भाग लिन्नँ,’ सोमबार युरो २०२४ मा हुने अस्ट्रियाविरुद्धको खेलअघि एम्बाप्पेले भने ।

उनले थपे, ‘म फ्रान्सको टोलीलाई शुभकामना दिन चाहन्छु । म हरेक खेल हेर्नेछु । आशा छ टोलीले स्वर्ण पदक जित्नेछ ।’

पुरुष ओलम्पिक फुटबल प्रतियोगिता युरो फाइनलको १० दिनपछि २५ जुलाईबाट सुरु हुँदैछ । यो अगस्त ९ मा सकिन्छ, जुन ला लिगा सिजन सुरु हुनुभन्दा एक हप्ता अघि हो ।

ओलम्पिक फुटबल प्रतियोगितामा यू–२३ टोलीले भाग लिन्छ । तर, हरेक राष्ट्रले ३ जना २३ वर्षमाथि खेलाडीहरू समावेश गर्न पाउँछ ।

दुईपटकको युरोपियन च्याम्पियन फ्रान्स युरो २०२४ को प्रमुख दाबेदार टोली हो । डिडिएर डेसच्याम्पस जर्मनीका बर्टी भोग्ट्सपछि खेलाडी र म्यानेजरका रूपमा युरोपियन च्याम्पियनसिप जित्ने मात्र दोस्रो व्यक्ति बन्ने होडमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖