काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी-२० विश्वकपमा नेपालको यात्रा टुंगिएको छ । ४ खेल मध्ये तीन वटामा मात्र खेल्न पाएको नेपालले जित हासिल गर्न नसकेपनि प्रशंसाहरु पाउँदै प्रतियोगितामा राम्रो छाप पार्न सफल रह्यो ।
नेपालका लागि श्रीलंकासँगको खेल वर्षाका कारण रद्द हुनु दुर्भाग्यपूर्ण रह्यो । अन्य खेलमा आफ्नो प्रतिस्पर्धीलाई कडा टक्कर दिन सफल नेपाल, दक्षिण अफ्रिकासँग १ रनले मात्र पछि पर्यो । समग्रमा नेपालका खेलाडीहरूले तीन वटै खेलमा उत्कृष्ट प्रदर्शन गरे ।
नेपालले खेलेका तीन वटै खेलहरू लो स्कोरिङ थिए । नेपालका कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । साउथ अफ्रिकाविरुद्ध आसिफ शेखले बनाएको ४२ रन प्रतियोगितामै नेपाली ब्याट्सम्यानको ठूलो स्कोरका रुपमा रह्यो । यहाँ हामी नेपालका खेलाडीहरूको व्यक्तिगत प्रदर्शन कस्तो रह्यो भन्ने चर्चा गर्नेछौं ।
१. कुशल भुर्तेल
नेपालका आक्रमक ओपनर ब्याट्सम्यान कुशल भुर्तेल तीन वटै म्याचमा चल्न सकेनन् । विश्वकपअघि नै खराब फर्मबाट गुज्रिरहेका कुशलमा आत्मविश्वासको कमी थियो । उनले तीन खेलमा ७, १३ र ४ रन बनाए । कुल मिलाएर २४ रन बनाएका कुशलको बलिङ भने शानदान रह्यो । उनले अफ्रिकासँगको खेलमा शानदार बलिङ गर्दै ४ विकेट लिएका थिए ।
२. आसिफ शेख
नेपालका विकेट किपर ब्याट्सम्यान आसिफ शेखको ब्याटिङ तुलनात्मक रुपमा अन्य खेलाडीको भन्दा सन्तोषजनक रह्यो । पहिलो म्याचमा ४ रनमा आउट भएका उनले साउथ अफ्रिकाविरुद्धको म्याचमा ४२ रन बनाउँदै नेपाललाई जितको आशा जगाएका थिए । यस्तै बंगलादेशविरुद्ध उनी १७ रनमा आउट भए ।
३. अनिलकुमार साह
वैकल्पिक ओपनरका रुपमा टिममा समावेश गरिएका अनिलकुमार साहले तीन वटै खेलमा अवसर पाए तर प्रदर्शन सोचेझै रहन सकेन । पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ११ रन बनाएर आउट भएका उनले साउथ अफ्रिकासँगको खेलमा २७ रन जोडे । यस्तै बंगलादेशविरुद्ध उनले खाता समेत खोल्न सकेनन् ।
४. रोहितकुमार पौडेल
विश्वकप अघि उत्कृष्ट फर्ममा रहेका नेपाली टिमका कप्तान रोहितकुमार पौडेल पिचमा टिक्न सकेनन् । नेदरल्यान्ड्सविरुद्ध ३५ रनको महत्वपूर्ण पारी खेलेका रोहितले साउथ अफ्रिका र बंगलादेशविरुद्ध क्रमशः शून्य र १ रनमा आउट भए । यस्तै अन्तिम खेलमा बलिङ गरेका कप्तान समेत रहेका रोहितले ४ ओभरमा २० रन दिएर २ विकेट लिए ।
५. कुशल मल्ल
नेपालका विष्फोटक ब्याट्सम्यानका रुपमा परिचित कुशल मल्लले आजको खेलमा बंगलादेशविरुद्ध २७ रन बनाएपनि धेरै बल डट खेल्न पुगे । अघिल्ला २ खेलमा चल्न नसकेका कुशलले नेदरल्यान्ड्सविरुद्ध ९ रन र दक्षिण अफ्रिकाविरुद्ध १ रन बनाएका थिए । यस्तै दक्षिण अफ्रिकाविरुद्ध मात्र बलिङ गर्न पाएका कुशलले २ ओभरमा १७ रन दिँदा १ विकेट समेत लिन सकेनन् ।
६. दीपेन्द्रसिंह ऐरी
नेपालका भरपर्दा अलराउन्डर दिपेन्द्रसिंह ऐरीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङ चल्न सकेन । २ खेलमा डबल डिजिटमा रन बनाउन नसकेका उनले बंगलादेश विरुद्धको खेलमा भने २५ रन बनाए । यसअघि नेदरल्यान्ड्सविरुद्ध १ रन बनाएका दीपेन्द्रले दक्षिण अफ्रिकासँगको खेलमा ६ रन बनाएका थिए ।
यस्तै बलिङमा भने उनको प्रदर्शन गौरव गर्न लायक रह्यो । नेदरल्यान्ड्सविरुद्ध २ ओभर गरेका उनले ६ रन दिँदा १ विकेट हात पारे । यस्तै दक्षिण अफ्रिकाविरुद्ध ३ विकेट लिएका दीपेन्द्रले ४ ओभरमा २१ रन मात्र दिए । त्यस्तै अन्तिम खेलमा बंगलादेशविरुद्ध उनले ३ ओभर ३ बलमा २२ रन दिएर २ विकेट लिन सफल भएका थिए ।
७. गुल्शन झा
अलराउन्डर गुल्शन झाका लागि यो विश्वकप बिर्सनलायक रह्यो । दक्षिण अफ्रिकाविरुद्धको म्याचले उनलाई लामो समयसम्म विर्सन नसकिने पीडा दिएको छ । अन्तिम २ बलमा २ रन बनाउन चुकेपछि उनलाई कतिपयले खलनायक पनि भनेका छन् । प्रतियोगितामा उनको प्रदर्शन राम्रो रहन सकेन । नेदरल्यान्ड्सविरुद्ध १५ बलमा १४ रन बनाएका झाले २ ओभर बलिङ गर्दा विकेट लिन सकेनन् । उनले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध बलिङ गर्ने मौका पाएनन् भने दक्षिण अफ्रिकाविरुद्ध ६ बलमा ६ रन बनाएका उनले बंगलादेशविरुद्ध ४ बलमा खाता खोल्न सकेनन् ।
८. सोमपाल कामी
नेपालका प्रमुख फास्ट बलिङ अलराउन्डर सोमपाल कामीबाट ब्याटिङमा पनि आशा राखिन्छ । उनले दक्षिण अफ्रिकाविरुद्ध १९ औं ओभरको पाचौं बलमा हानेको १०५ मिटर लामो छक्काले पनि प्रमाणित गर्छ । एक छक्कासहित दक्षिण अफ्रिकाविरुद्ध ४ बलमा ८ रन बनाएका सोमपालले नेदरल्यान्ड्स र बंगलादेशविरुद्धको खेलमा खाता समेत खोल्न सकेनन् ।
सोमपालले बलिङमा भने राम्रो छाप छाड्न सफल रहे । नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा ४ ओभरमा १८ रन दिएर १ विकेट लिएका सोमपालले दक्षिण अफ्रिकाविरुद्ध २ ओभरमा ६ रन मात्र दिँदा विकेट लिन असफल रहे । यस्तै आज भएको अन्तिम खेलमा ३ ओभरमा मात्र १० रन दिएर महत्वपूर्ण २ विकेट लिन सफल रहे ।
९. अविनाश बोहरा
योर्कर विशेषज्ञ अविनाश डेथ ओभरमा चुक्छन् भनेपनि उनको प्रदर्शन सन्तोषजनक रह्यो । उनले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ३ ओभर ४ बलमा २९ रन दिएर १ विकेट लिए । यस्तै दक्षिण अफ्रिकाविरुद्ध ३ ओभर बलिङ गरेका उनले १९ रन दिँदा विकेट लिन असफल भए । अन्तिम खेलमा बंगलादेशविरुद्ध उनले १ ओभर मात्र बलिङ गर्ने अवसर पाए जसमा उनले १० रन दिए ।
१०. करण केसी
नेपाली राष्ट्रिय टोलीका निकै अनुभवी खेलाडी हुन्, करन केसी । ३२ वर्षीय यी अलराउन्डर खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै छाप छाड्ने अवसर गुमाए । २ खेल खेल्न पाएका करणले नेदरल्यान्ड्सविरुद्ध मात्र ब्याटिङको अवसर पाए, जसमा उनले १२ बलमा १७ रन बनाए । यस्तै नेदरल्यान्ड्सविरुद्ध ३ ओभर बलिङ गरेका उनले १७ रन दिँदा विकेट लिन सकेनन् । दक्षिण अफ्रिकाविरुद्ध १ ओभर मात्र गर्न पाएका उनले ९ रन दिए ।
११. सन्दीप लामिछाने
लेग स्पीनर सन्दीप लामिछानेले टी-२० आई क्रिकेटमा १ सय विकेट लिएर सबैलाई आकर्षित गर्न सफल भए । उनले प्रतियोगिताको २ खेलमा २ विकेट लिए । दक्षिण अफ्रिकाविरुद्ध ४ ओभरमा १८ रन खर्चिएर विकेट लिन असफल लामिछानेले बंगलादेशविरुद्ध ४ ओभरमा १७ रन दिएर २ विकेट लिन सफल भए ।
१२. सन्दीप जोरा
विश्वकप खेल्न गएका १५ सदस्यीय टोलीभित्र सबैभन्दा कम अनुभवी ब्याट्सम्यान थिए, सन्दीप जोरा । तर, उनी माथि ठूलो आशा राखिएको थियो । उनले प्रतियोगितामा १ मात्र खेलमा अवसर पाए । उनले बंगलादेशविरुद्ध पाएको अवसरमा आफूलाई प्रमाणित गर्ने अवसर गुमाए । उनी ८ बलमा १ रन बनाउँदै आउट हुन पुगे ।
१३. सागर ढकाल
आईसीसी टी-२० विश्वकपको नवौँ संस्करणका लागि घोषित नेपाली टोलीमा रहेका खेलाडीमध्ये सबैभन्दा कम अन्तर्राष्ट्रिय अनुभव बटुलेका खेलाडी हुन्, सागर ढकाल । दायाँहाते स्पिन बलर सागरले एक खेलमा मात्र अवसर पाए । उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा ४ ओभरमा २१ रन दिँदा विकेट लिन सकेनन् । उनी अन्य खेलमा बेन्चमै बस्न बाध्य भए ।
