• Friday 9th of October 2026

भारतका पूर्व क्रिकेटरले गरे आत्महत्या


  • धनकुटा खबर
  • .

भारतको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका छन् । उनले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।

५३ वर्षीय पूर्वक्रिकेटर डेभिडले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनी आफ्नो घरनजिकै क्रिकेट एकेडेमी चलाउँथे । कर्नाटक राज्य क्रिकेट सङ्घका एक अधिकारीले पनि डेभिडले आत्महत्या गरेको समाचारको पुष्टि गरेका छन् ।

‘डेभिड आफ्नै घरको चौथो तल्लाबाट तल खसेको जानकारी हामीले पाएका छौँ । उनलाई तत्काल अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषित गर्‍यो,’ नाम नखुलाइएको ती अधिकारीले सञ्चारकर्मीसँग भनेका छन् ।

डेभिड जोन्सनले भारतका लागि दुई वटा टेस्ट पनि खेलेका थिए । उनले भारतका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध टेस्ट खेलेका थिए । टेस्ट क्रिकेटमा मध्यमतेज गतिका बलर डेभिडले तीनवटा विकेट पनि लिएका थिए ।

यसका अतिरिक्त डेभिडले ३९ वटा प्रथम श्रेणीको क्रिकेट खेल्दै कुल एक सय २५ विकेट लिएका थिए । उनलाई सन् १९९६ मा जवागल श्रीनाथको स्थानमा भारतीय टोलीमा स्थान दिइएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले पनि डेभिडको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖