अफगानिस्तान आईसीसी टी-२० विश्वकप क्रिकेटकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।
वेस्ट इण्डिजको सेन्ट भिन्सेन्टमा मंगलबार बिहान भएकाे खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान पहिलो पटक टी-२० विश्वकप क्रिकेटकाे सेमिफाइनलमा प्रवेश गरेको हो । सन् २०१० बाट विश्वकप खेल्दै आएको अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा पुग्न सफल भएकाे हाे ।
पानी परेर खेल प्रभावित भएपछि खेल एक ओभर कम गरिएको थियो ।
अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा अलआउट हुङ्दैग १ सय ५ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि लिन्टनकुमार दासले ५४ रन बनाए ।
बलिङतर्फ अफगानिस्तानका कप्तान राशिद खान र नभिन उल हकले समान ४-४ तथा फैजलहक फारुकी तथा गुलबदीन नईबले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ राेजेकाे अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १५ रन बनाएकाे थियाे । उसका लागि रहमुतुल्लाह गुरबाजले ४३, इब्राहिम जरदानले १८ र कप्तान रासिद खानले १९ रन बनाए ।
बलिङतर्फ बंगलादेशका रासिद हुसेनले ३ तथा ताक्सिन अहमद र मुस्तफिजुर रहमानले समान १-१ विकेट लिए ।
अफगानिस्तानसँग हारेसँगै अष्ट्रेलिया सुपर-८बाटै बाहिरिएको छ ।
योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । जसमा भारत र इंग्ल्याण्ड तथा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्ने छन् ।
