• Friday 9th of October 2026

सेमिफाइनल यात्रा तय गरेको अफगानिस्तानका कप्तानले भने– नेपाल पनि हाम्रै बाटोमा छ


  • धनकुटा खबर
  • .

विश्वकपकाे सेमिफाइनल यात्रा तय गरेको अफगानिस्तानका कप्तान राशिद खानले टी–२० क्रिकेट विश्वकपमा नेपालले उत्कृष्ट खेल खेलेको बताएका छन् ।

मंगलवार बंगलादेशलाई हराउँदै पहिलोपटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै खानले प्रतियोगिताभर नेपालले राम्रो क्रिकेट खेलेको बताएका हुन् ।

खानले अहिले नेपालसँग अफगानिस्तानकै जस्तो प्रगतिउन्मुख परिदृश्य रहेको उल्लेख गरे ।

‘प्रतियोगिताभर नेपालले जसरी प्रदर्शन गर्‍यो। विशेषगरी नयाँ राष्ट्रको रूपमा विश्वकपमा आएको र राम्रो प्रदर्शन गरेको देखेर मलाई खुसी लागेको छ,’ उनले भने, ‘नेपाली खेलाडीले सबै टोलीविरुद्ध उत्कृष्ट क्रिकेट खेले । उनीहरूले आफ्नै योजना कार्यान्वयन गरे । पहिले हामीले पनि त्यसै गरेका थियौं ।’

१० वर्षपछि विश्वकप खेलेको नेपाल ४ वटा खेलमा एउटा पनि नजिती समूह चरणबाटै बाहिरिएको थियो । तर प्रायः सबै टोलीसँग समग्रमा सन्तोषजनक प्रदर्शन गरेको थियो । बलिङमा त नेपालले उत्कृष्ट नै प्रदर्शन गरेको थियो ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपाल बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । यसको चर्चा संसारभर भएको छ ।

चौथो तथा अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै नेपालले विश्वकप यात्रा टुंग्याएको थियो । बंगलादेशसँगको प्रदर्शनलाई पनि उत्कृष्ट मानिएको छ ।

सुपर ८ अन्तर्गत मंगलवार बिहान सेन्ट भिसेन्टमा भएको खेलमा डीएलएस मेथडका आधारमा बंगलादेशलाई ८ रनले हराउँदै अफगानिस्तान विश्वकप इतिहासमै पहिलोपटक सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖