• Friday 9th of October 2026

अफगानिस्तान भर्सेस दक्षिण अफ्रिका- पहिलो फाइनल यात्राको भिडन्त


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा बुधवार बिहान अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दैछन्।

सिनियर अन्तर्राष्ट्रिय क्रिकेटको विश्वकपमा अफगानिस्तान र दक्षिण अफ्रिका दुवै पहिलो पटक फाइनल पुग्ने प्रयासमा छन्।

अफगानिस्तान पहिलो पटक सेमिफाइनल पुगेको हो भने दक्षिण अफ्रिकाले तेस्रो पटक अन्तिम चारको यात्रा तय गरेको हो। यसअघि दक्षिण अफ्रिकाले सन् २००९ र २०१४ को संस्करणमा सेमिफाइनल यात्रा तय गरेको थियो।

जारी विश्वकपमा अफगानिस्तानले शानदार प्रदर्शन गरिरहेको छ। उसले बलिया टोलीहरूमाथि एकपछि अर्को जित हात पारिरहेको छ। पहिलो चरणमा न्युजिल्यान्ड, युगान्डा र पपुआन्युगिनीलाई हराएको थियो भने वेस्ट इन्डिजसँग पराजित भएको थियो।

सुपर एटमा अस्ट्रेलिया र बंगलादेशजस्ता टोलीहरूलाई हराएको अफगानिस्तान भारतसँग भने निराश बनेको थियो।

यता दक्षिण अफ्रिकाले पहिलो चरणमा बंगलादेश, श्रीलंका, नेपाल र नेदरल्यान्ड्सलाई हराएको थियो। सुपर एटमा उसले इङ्ल्यान्ड, वेस्ट इन्डिज र अमेरिकामाथि शतप्रतिशत जितको नतिजा निकालेको थियो।

दक्षिण अफ्रिकाले एकदिवशीय विश्वकपमा पनि यसअघि सेमिफाइनलभन्दा अगाडिको यात्रा तय गर्न सकेको छैन। अफगानिस्तानले हालसम्म दक्षिण अफ्रिकालाई हराएको छैन।

जारी विश्वकपमा अफगानिस्तानका रहमनुल्लाह गुर्बाज ३ अर्धशतकसहित २ सय ८१ रन जोडेर सर्वाधिक रन बनाउने ब्याट्सम्यान रहेका छन्। इब्राहिम जद्रानले पनि २ अर्धशतकसहित २ सय २९ रन बनाएका छन्।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डी कोकले सर्वाधिक एक सय ९९ रन जोडेका छन्।

बलिङतर्फ पनि अफगानिस्तानका बलर फजालहक फारुकी शीर्षस्थानमा छन्। उनले १६ विकेट हात पारेका छन्। रसिद खानले पनि १४ र नवीन उल हकले १३ विकेट लिएका छन्।

दक्षिण अफ्रिकाका लागि एनरिच नोर्त्याले ११ र कागिसो रबडाले १० विकेट हात पारेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖