• Thursday 22nd of October 2026

पहिरोबाट आज मात्र ९ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोले जनधनको व्यापक क्षति पुर्‍याइरहेको छ । अविरल वर्षापछि आएको पहिरोले गुल्मी, बागलुङ र कास्कीमा गरी शनिबार मात्र ९ जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलका अनुसार मृत्यु हुनेमा भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिक, नातिनी सपना विक र बिपना विक रहेका छन् ।

उता बागलुङमा गएराति गएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती विकको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

त्यस्तै आज बिहान पहिरोले घर बगाउँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका वडा नम्बर ५ बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएका हुन् ।

घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न नदीहरूमा बाढीको जोखिम समेत बढेको छ । बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज र भोलि कालिगण्डकी, सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने र नारायणी नदीका अन्य सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।

आज पर्वत, स्याङ्जा, बागलुङ सुर्खेत र आसपासका जिल्ला भएर बहन खोलाहरूमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाको भनाइ छ ।

आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट आवश्यक सतर्कता अपनाउनु समेत महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖