• Friday 9th of October 2026

सूर्यकुमार यादवको सनसनीपूर्ण क्याच जसले भारतलाई १७ वर्षपछि जितायो टी-२० विश्वकप


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतले आइसिसी टी-२० विश्वकपको उपाधि जितेको छ।
शनिबार बार्बाडोसस्थित केन्सिङ्टन ओभलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारत १७ वर्षपछि विजेता बनेको हो।

भारत यसअघि सन् २००७ मा विश्विविजेता बनेको थियो।
विस्फोटक ब्याटिङ गरेका दक्षिण अफ्रिकी ब्याटर हेनरिक क्लासेनको विकेट भारतका लागि टर्निङ पोइन्ट बनेको थियो।

१६.१ ओभरमा हार्दिक पाण्ड्याको बल किनारामा लागेपछि क्लासेन विकेट किपर रिशभ पन्तबाट क्याच आउट हुन पुगेका थिए।

१७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले क्लासेनको विकेटअघि १५१ रन बनाएको थियो। अर्थात् जितका लागि उसलाई २४ बलमा २६ रन आवश्यक थियो।

क्लासेनको विकेटपछि १७ औं ओभरमा दक्षिण अफ्रिकाले ४ रनमात्रै जोड्यो।

अठारौं ओभरमा जसप्रित बुमराह हाबी हुँदा दक्षिण अफ्रिकाका मार्को जनसेन आउट भए। महत्वपूर्ण ओभरमा बुमराहले २ रनमात्रै खर्चिएर विकेट लिएका थिए।
जनसेनपछि आउने चारै जना बलर थिए। जनसेनको विकेट भारतले उपाधि यात्राको दोस्रो टर्निङ पोइन्ट भन्न सकिन्छ।
१९ औ ओभर सुरू हुँदा दक्षिण अफ्रिकालाई जितका लागि १२ बलबाट २० रन आवश्यक थियो। भारतले अर्का फास्ट बलर अर्शदीपलाई बलिङमा पठायो।

डेविड मिलर दक्षिण अफ्रिकाका लागि अन्तिम आशा थियो। मिलर मौकाको खोजीमा थिए। त्यसकारण १९ औं ओभरमा उनी जोगिएर खेलेका थिए। अर्शदीपले उक्त ओभरमा ४ रन मात्रै दिए।

अन्तिम ६ बलमा दक्षिण अफ्रिकालाई १६ रन आवश्यक थियो। भारतले डेथ ओभरको जिम्मा हार्दीक पाण्ड्यालाई दियो।

पाण्ड्याको पहिलो बललाई मिलरले बाउन्ड्रीतर्फ प्रहार गरे। छक्का जान लागेको बललाई सूर्यकुमार यादवले बाउन्ड्रीको छेउमै समाते।
बल समातिसकेपछि बाउन्ड्री बाहिर पुगिने थाहा भएपछि सूर्यकुमारले आफू बाउन्ड्री बाहिर पुग्नुअगाडि नै बल माथि फाले र फेरी बाउन्ड्री भित्र आएर समाते। उनले यसरी लिएको क्याचले भारतको जित सुनिश्चित गरेको हो।
त्यो बल छक्का जान्थ्यो भने दक्षिण अफ्रिकाको सम्भावना पनि उच्च रहन्थ्यो। मिलर छक्का हान्न सक्ने ब्याटर पनि हुन्। अन्तिम ओभरको पहिलो बलमै मिलर आउट भएपछि भारतको जित सुनिश्चित भएको हो।

दक्षिण अफ्रिकाविरूद्धको जितलाई भारतीय सञ्चारमाध्यहरूले आमिर खान स्टारर फिल्म लगानसँग तुलना गरेका छन्।

मिलरको विकेटपछि कगिशो रबाडाले प्रयत्न गरेका थिए तर पाचौं बलमा उनी आउट हुन पुगेका थिए।

१७ वर्षपछि उपाधि घरमा ल्याउने क्रममा भारत अपराजित समेत रह्यो। उसले यसपालिको विश्वकपमा खेलेका सबै खेल जितेको छ।
फाइनल खेलमा विराट कोहली म्यान अफ द म्याच बने भने जसप्रित बुमराहले म्यान अफ द टुर्नामेन्टको टाइटल जिते।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖