• Thursday 22nd of October 2026

१९ वर्षीय केटोले काठमाडौँमा गरे लाखौँको चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय रहेको समूहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । गत जेठ २४ गते टोखामा भएको चोरीको घटनाबारे अनुसन्धान गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार टोखा नगरपालिका–८ स्थित रामबहादुर थापाको साढे २ तले घरमा कोही नभएको अवस्थामा दिउँसै चोरी भएको थियो । घरको मूल ढोका नै फोडेर चोरले सुनका गहना, नगद, मोबाइल र ल्यापटप गरी करिब २९ लाख ७५ हजार ६७० रुपैयाँ बराबरको चोरी गरेका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा चोरीमा ओखलढुङ्गा घर भई मनमैजु बस्ने १९ वर्षीय दीपेश मगर र चोरीको सामान बेचबिखन गर्ने अन्य व्यक्तिलाई पक्राउ गर्न सफल भएको उपरीक्षक आचार्यले जानकारी दिए । सोधपुछका क्रममा मगरले असार १३ गते टोखाकै भण्डारी टोलीमा रहेको रोशनी तामाङको साढे २ तल्ला घरको पहिलो तल्लामा प्रवेश गरी सुनका गहना, मोबाइल र ल्यापटपसमेत गरी १० लाख ८६ हजार ८०० रुपैयाँ बराबरको धनमाल चोरी गरेको खुल्न आएको थियो ।

पक्राउ पर्ने अन्यमा गोरखा घर भएका २१ वर्षीय विज्ञान घिमिरे, ओखलढुङ्गा घर भएका २२ वर्षीय दीपक मगर, ललितपुर घर भएका २५ वर्षीय विजय विश्वकर्मा, रामेछाप घर भएका २८ वर्षीय सञ्जीव कार्की, तेह्रथुम घर भएका २२ वर्षीय दिलबहादुर माझी, तनहुँ घर भएका रुवीन पाण्डे क्षेत्री र ललितपुर घर भएका ३५ वर्षीय राजु महर्जन रहेका छन् ।

उनीहरूको साथबाट चोरीका विभिन्न सामग्री समेत प्रहरीले बरामद गरेको छ । उनीहरूले चोरी गरेका अन्य स्थानको पहिचान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖