• Thursday 8th of October 2026

मेसीलाई तीन वर्षमा तेस्रो उपाधि जित्ने अवसर


  • धनकुटा खबर
  • .

व्यवसायीक फुटबलमा सबै उपाधि जिते पनि अर्जेन्टाइन फरवार्ड लिओनल मेसीलाई देशका लागि मुख्य उपाधि जित्न निकै लामो समय कुर्न पर्‍यो।
सन् १९९३ मा कोपाको उपाधि जितेपछि अर्जेन्टिना मुख्य प्रतियोगिताको पाँच फाइनल पुगेको थियो। जसमा मेसीले चार फाइनलमा खेलेका थिए। तर ती सबै फाइनलमा उपाधि जित्न अर्जेन्टिना असफल भयो।

सन् २००५ मा १८ वर्षको उमेरमा हंगेरीविरूद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका मेसीले ठूला प्रतियोगितामा लगातार उपाधिविहीन भएपछि सन् २०१६ मा अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा समेत गरेका थिए।
सन् २०१४ को विश्वकप फाइनल, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनल पुगे पनि अर्जेन्टिना उपविजेतामै सीमित बनेको थियो।

सन् २०२१ मा भने अर्जेन्टिना र मेसीको दिन आयो। कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि तथा मेसीले पहिलो पटक उपाधि उचाल्न सफल भए।

यति मात्र होइन सन् २०२२ मा मेसीको अर्को धोको पनि पूरा भयो। सन् २०२२ को फिफा विश्वकपको फाइनलमा फ्रान्सलाई पराजित गर्दै मेसीले आफ्नो अन्तिम धोको पनि पूरा गरे।

मेसी सन् २०२४ मा फेरि अर्को उपाधि नजिक छन्। कोपा अमेरिका २०२४ को फाइनलमा नेपाली समयअनुसार सोमबार विहान ५:४५ बजे अर्जेन्टिनाले कोलम्बियासँग खेल्दैछ।

आठ पटकका बालोन डि’ओर विजेता मेसीले अमेरिकामा भइरहेको यसपटकको कोपामा भने सोचे जस्तो प्रदर्शन गर्न सकेका छैनन्। मांसपेशीको समस्याले उनले पेरुसँग समूह चरणको भिडन्तमा आराम लिए। उनले क्यानडाविरुद्धको सेमिफाइनल जितमा प्रतियोगिताको आफ्नो पहिलो गोल गरेका थिए।

कोलम्बियासँगको खेलअघि मेसी आफू फिट भएको बताएका छन्।
‘क्यानडासँगको सेमिमफाइनलमा मैले शारीरिक रूपमा धेरै राम्रो महसुस गरें। चिलीसँगको समूह चरणको खेलमा मलाई समस्या भएको थियो। त्यसपछिका केही खेलमा पनि मलाई समस्या भयो। अब फाइनलको लागि अझ राम्रो हुनेछ भन्ने विश्वास छ,’ मेसीले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖