• Thursday 8th of October 2026

दक्षिण एसियाली करातेमा नेपालले पहिलो दिन जित्यो आठ स्वर्ण


  • धनकुटा खबर
  • .

भुटानको थिम्पुमा आजदेखि सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई पहिलो दिन आठ स्वर्ण प्राप्त भएको छ।

प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला –२१ बर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए।

एलिसाले सेमिफाईनलमा भुटान र फाईनलमा भारतलाई पराजित गरिन भने स्वनिमले सेमिफाईनलमा श्रीलंका र फाइनलमा भारतलाई पराजित गरेका थिए।

त्यसैगरि सन्जुले फाईनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरि नेपाललाई स्वर्ण पदक दिलाए। त्यसैगरि जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियर तर्फकै महिला एकल कातामा फाईनलमा श्रीलंका संग पराजित भई नेपाल कि रेनिशा रिमालले रजत पदकमा चित्त बुझाए।

त्यसैगरि सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्रबहादुर खपाङगीले जानकारी दिए।

यस अघि प्रतियोगिताको औपचारिक उदघाटन भुटानका राजकुमार टासु जिगेल ले एक बिशेष समारोहकाबीच गरे।

भुटानसहित नेपाल, भारत र श्रीलंका सहभागी रहेको उक्त प्रतियोगिताको उदघाटन समारोहमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ, उपाध्यक्ष मजिन्द्र सिंह, महासंघका सदस्यहरु, बरिष्ठ प्रशिक्षकहरु, टिम प्रशिक्षकहरु, पदाधिकारीलगायत करिव १ दर्जन अफिशियलहरुको सहभागी रहेको प्रवक्ता खपाङ्ले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖