काठमाडौँ । नेपालका लागि भारतीय राजदूत रहिसकेका केभी राजनले ७५ वर्षको नेपाल–भारत सम्बन्धको इतिहासमा अहिले जस्तो कहिले खराब नरहेको टिप्पणी गरेका छन् । भारतबाट लामो समय नेपालमा रहेर राजदूत तथा अन्य पदमा रहेर काम गरेका राजनले नेपालको तर्फबाट भारतलाई ठुलै खतरा रहेको पनि दाबी गरेका हुन् ।
नेपालबारे उनको प्रकाशित पुस्तक ‘काठमाडौँ क्रोनिकल रिक्लेमिङ इन्डिया–नेपाल रिलेसेन्स’ बारे पत्रकारसँग संवाद गर्दै पूर्वराजदूत राजनले भारतलाई नेपालीबाट होइन, अरू देशले नेपाललाई भारतको विरुद्धमा प्रयोग गर्ने खतरा रहेको धारणा राखे । पछिल्लो समय चीनले नेपाललाई भारतको विरुद्ध प्रयोग गरिरहेको बताउँदै उनले भने, ‘यो होइन कि चीन नेपालमा तिब्बतलाई लिएर मात्र चिन्तित छ र तिब्बतकै कारण नेपाललाई हेर्न चाहेको छ । आफ्नो गहिरो रणनीतिक स्वार्थका कारण उसले नेपाललाई प्रयोग गर्न चाहेको छ । यसको मतलब भारतको विरुद्धमा जुन विदेशी शक्तिहरू छन्, उनीहरूले नेपाललाई प्रयोग गर्न सक्छन् र गरिरहेका छन् ।’
भारतमा नेपाल मामिलाका जानकार मानिएका पूर्वराजदूत राजनले चीनको मामिलामा नेपाल भारतको साथ रहोस् भनेर भारतले चाहेको र भारतका लागि हिमाल एउटा बोर्डरका रूपमा रहोस् भन्ने अपेक्षा रहेको बताए । नेपाल भारत र चीनको बिचमा बफर जोनको रूपमा काम गरोस् भन्ने पनि भारत चाहेको तर पछिल्लो समय नेपाल चीनतर्फ हेर्न थालेको र चीन कार्ड खेल्न थालेको टिप्पणी गरे । यसले गर्दा चीनले नेपालबाट ठुलो ठुलो स्वरमा बोल्न लागेको आरोप लगाउँदै उनले भने, ‘चीनले नेपाललाई भारतमाथि विश्वास नगर्न भनिरहेको छ । कहिलेकाहीँको अवस्था हेर्दा लाग्छ, नेपालले पनि चीनले भनेको मानिरहेको छ ।’
नेपाल कहिले कुनै देशको गुलाम नभएको र जहिले स्वतन्त्र राष्ट्रको रूपमा रहेको जिकिर गर्दै उनले भारतले पनि नेपाल सधैँ स्वतन्त्र राष्ट्रकै रूपमा रहोस् भन्ने चाहेको स्पष्ट पारे । तर नेपाल कहिलेकाहीँ यताउती ढल्कने गरेको उनले टिप्पणी गरेका छन् ।
नेपालले नयाँ नक्सा पारित गरेको र त्यो नक्सालाई एक सयको नोटमा राख्ने निर्णय पनि गरिसकेकोले यसले भारतलाई निकै गम्भीर बनाएको उनले बताए । यो घटनाले अब नेपाल–भारत बिचको सीमा विवाद कहिले समाधान नहुने उनले स्पष्ट पारे ।
उनले भने, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा रहेको सरकार, जुन एमालेसँगको गठबन्धनमा बनेको थियो, ले सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेको छ । यो आवश्यक नै थिएन । यो निर्णय गर्ने प्रधानमन्त्रीलाई थाहा थियो कि यो निर्णयपछि नेपाल–भारतबिच रहेको सीमा समस्या कहिल्यै समाधान हुँदैन ।’
नक्सा कार्यान्वयनमा नआए पनि धेरै पछि त्यो सयको नोट नेपाली जनताले हेर्दा उसलाई लाग्नेछ कि भारतले नेपालको भूमि कब्जा गरेको छ । यसले भारतप्रति नकारात्मक सोच तयार हुने उनले जिकिर गरे । लिपुलेक, कालापानी, लिम्पियाधुरा धेरै पहिलादेखि भारतको अधीनमा रहेको दाबी गर्दै राजनले नेपालले कहिले पनि त्यसमा आफ्नो दाबी नगरेको तर अहिले आएर दाबी गर्नुका पछाडि धेरै कारणहरू रहेको बताए ।
‘यसले दुई देश बिचको सम्बन्धमा असर गरेको छ । यो असर लामैसम्म रहन्छ । नेपालमा यसअघि पनि भारतको विरुद्ध थुप्रै गतिविधिहरू भएका थिए– हवाई जहाज अपहरणदेखि लिएर सीमा वारपारका समस्या, आतङ्कवादी घुसपैठ जस्ता कुराहरू नेपालबाट नै भएको थियो । भारतले त्यसलाई नजरअन्दाज गर्दै आइरहेको थियो तर अब भारत पनि नेपालको बारेमा गम्भीर हुन जरुरी छ,’ उनले भने ।
नेपालमा भइरहेको गतिविधिलाई गम्भीर रूपमा अध्ययन गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बेला आएको बताउँदै उनले भने, ‘नेपाल भारतको यति नजिक छ कि हामी सोच्न बाध्य भएका छौँ कि नेपालमा यो के भइरहेको छ । हामीले बुझ्नुपर्छ नेपालको तर्फबाट पनि खतरा हुनसक्छ । त्यसले रोटीबेटीको सम्बन्धमाथि पनि खतरा हुनसक्छ ।’
पुरै विश्वमा नेपाल र भारतजस्तो सम्बन्ध कहीँ पनि नरहेको बताउँदै उनले थपे, ‘हामी पनि नेपाल जाँदा त्यहाँ आफ्नै परिवारका सदस्यलाई भेट्न आएको जस्तो महसुस हुन्छ । तर, यो सम्बन्ध अहिले खतरामा छ ।’
राजनले लेखेको पुस्तकमा दरबार हत्याकाण्डदेखि लिएर हवाईजहाज अपहरणलगायतका विषय उल्लेख गरेका छन् । राजनको बुझाइमा दरबार हत्याकाण्ड आईएसआईको योजनामा भएको हो । नेपालबाट जहाज अपहरण गर्नुको कारण भारत–नेपाल बिच सम्बन्ध खराब गर्नका लागि भएको पनि उनको बुझाइ छ ।
