• Thursday 29th of October 2026

त्रिविमा स्नातकका विद्यार्थीले अब मौका परीक्षा दिन पाउने


  • धनकुटा खबर
  • .

काठमाडौँ —त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा फेल हुने विद्यार्थीले एक महिनाभित्र मौका/पूरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । त्रिवि प्राज्ञिक परिषद्ले वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरेको उपकुलपति केशरजंग बरालले जानकारी दिए ।

‘सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था छ,’ उनले भने, ‘वार्षिक प्रणालीमा पनि नतिजा प्रकाशन भएको दुई सातापछि मौका परीक्षा सञ्चालन गर्न पाउने निर्णय गरेका छौं ।’ दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने बरालले बताए ।

यसअघि अन्तिम वर्षमा कुनै पनि विषयमा अनुत्तीर्ण भए अर्को वर्ष मात्रै परीक्षा दिन पाउने व्यवस्था थियो । विद्यार्थीको एक वर्ष खेर गएकाले त्यसलाई बचत गर्न मौका परीक्षा सञ्चालन गर्न लागिएको उपकुलपति बरालले बताए । सबै संकाय र अध्ययन संस्थानमा उक्त निर्णय लागू हुने त्रिविले जनाएको छ ।

स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षमा अनुत्तीर्ण भए चौथो वर्ष अध्ययन गर्दासम्म विद्यार्थीले अनुत्तीर्ण विषयमा परीक्षा दिन पाउनेछन् । पहिले चौथो वर्षमा असफल भए अर्को वर्षको वार्षिक परीक्षासम्म प्रतिक्षा गर्नुपर्ने हुन्थ्यो । मौका परीक्षा सञ्चालन गर्दा हरेक ब्याचका २० देखि २५ हजार विद्यार्थीले अवसर पाउने त्रिविको अनुमान छ ।

त्रिविका रेक्टर खड्ग केसीले निर्णय परिपत्र गरेर कार्यान्वयनमा जाने बताए । ‘सेमेस्टर प्रणालीमा मौका परीक्षा दिने व्यवस्था भए पनि कार्यान्वयन भएको थिएन । त्यसलाई कार्यान्वयन गर्न डिन कार्यालयहरूलाई परिपत्र गछौं,’ उनले भने, ‘वार्षिक प्रणालीमा पनि मौका परीक्षाको व्यवस्था हुन्छ ।’ उनले परीक्षा सुधार समितिको सुभावको आधारमा त्रिविले परीक्षा नै अघि नै प्रश्नपत्रहरुको गुणस्तर परीक्षण गर्ने समेत निर्णय गरेको केसीले जनाए । ‘प्रश्नपत्र समपरीक्षण भएपछि ३ सदस्यीय विज्ञ समितिले प्रश्नपत्रको गुणस्तर समेत परीक्षण गर्ने व्यवस्था गर्न लागिएको छ,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖