• Friday 30th of October 2026

‘अर्नब’ चक्रवातको सम्भावित असरबारे सरकारको सतर्कता, निकायलाई तयारी अवस्थामा रहन निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौँ। चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई ध्यानमा राख्दै सरकारले मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार चक्रवातका कारण नेपालमा वर्षा, हिमपात र केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले जोखिम न्यूनीकरण, जनधनको सुरक्षा र अत्यावश्यक सेवाको सञ्चालनलाई चुस्त बनाउन आवश्यक तयारी गरिएको छ।

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको कार्यालयले जनाएको छ । यद्यपि, यसको सम्भावित प्रभावबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले विभिन्न स्थानमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन्।

पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घले पदयात्रा तथा पर्वतारोहणमा जानुअघि आधिकारिक मौसम पूर्वानुमान अद्यावधिक गरेर मात्र निर्णय लिन पर्यटक तथा पर्वतारोही टोलीलाई आग्रह गरेका छन् ।

हवाई सुरक्षालाई प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

यसैगरी, विभिन्न जिल्ला प्रशासन कार्यालयले आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेका छन् ।

सरकारले भ्रामक अफवाहको पछि नलाग्न र आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, मौसम पूर्वानुमानका आधारमा आवश्यक सतर्कता अपनाउँदै सुरक्षित रहन अपिल गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖