काठमाडौं – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ ।
अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई पेनाल्टीसहित ३ गोल गर्दा आर्मीका अनुभवी फरवार्ड भरत खवासले पनि पेनाल्टीसहित २ गोल गरे ।
खेलको सुरुवाती समयमा नै अन्जनको गोलमा चर्च ब्वाइजले अग्रता लिएको थियो । आयुष घलानले बायाँ विंगबाट दिएको कटब्याकमा अन्जनले ६ यार्ड बक्स भित्रबाट गोल गरे । तर त्यसपछि आर्मीले लगातार दुई गोल फर्काउँदै खेलमा अग्रता लियो ।
भरतले पेनाल्टी क्षेत्रबाहिरबाट सिर्जना गरेको मुभलाई बक्सभित्र लगेर सुन्दर फिनिस गरेर खेल बराबरीमा ल्याए । त्यसको केहीबेरमा प्राप्त पेनाल्टीलाई भरतले गोलमा परिणत गरे । हाफको अन्त्यतिर अन्जनले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा चर्च ब्वाइजका जाम्बियन मिडफिल्डर पिटर बान्डालाई पेनाल्टी क्षेत्र भित्र फल भएपछि प्राप्त पेनाल्टीमा अन्जनले ह्याट्रिक पूरा गरे । दुवै टोलीले आफ्नो बेन्चका खेलाडीलाई दोस्रो हाफमा अवसर दिएका थिए । यसअघि आर्मी र चर्च ब्वाइजबीच मंगलबार भएको खेल बराबरीमा सकिएको थियो ।
आर्मी अर्को साता सुरु हुने डुरान्ड कपका लागि आइतबार प्रस्थान गर्दैछ । आर्मीको समूहमा आइएसएल टोली हैदरावाद एफसी र एफसी गोवा तथा आइलिग टोली सिलोङ लाजोङ रहेको छ । चर्च ब्वाइजले भने साउन २९ मा भुटानको पारो एफसीको सामना गर्दैछ ।
