काठमाडौं,१५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार लामो समय चल्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभागीय मन्त्री तथा सचिवहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार लामो समय चल्ने हुँदा ढुक्क भएर काम गर्न आग्रह गरेको एक मन्त्रीले जानकारी दिए ।
‘मान्छेहरुले हल्ला फिँजाउन सक्छन् । यो सरकार पनि कतिदिन हो र भनेर । छटपटाएका मान्छेहरुले अनेक खालका कुराहरु गर्नसक्छन् । भ्रम छर्नसक्छन् । यो सरकार पनि कतिदिन हो र भन्न सक्छन् । तर, ढुक्का हुनुहोस् मेरो नेतृत्वको सरकार २ वर्ष चल्छ । त्यसपछि हाम्रै समर्थनमा शेरबहादुर ेदउवाजी प्रधानमन्त्री बन्नुहुनेछ । २ वर्ष पुग्गुभन्दा एक हप्ताअघिनै मैले राजीनामा दिन्छु । यस्मा ढुक्क भए हुन्छ । सरकार कहिँ कतैबाट अप्ठ्यारोमा परेको छैन’ ओलीले भने ।
सरकारले हिजोमात्र २१ जना सचिवको सरुवा गरेको थियो । सोही बमोजिम ओलीले नयाँ जिम्मेवारी पाएका सचिवहरुलाई सेवा प्रवाह र विकासका कामलाई अघि बढाउने विषयलाई व्यवहारमा लागू गर्ने बारेमा छलफल गर्न लागेका हुन् ।
सचिवहरुसँगको बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिवपनि सहभागी छन् । चालू आर्थिक वर्षको काम चुस्त र द्रुत गतिमा अघि बढाउने सरकारको योजना छ ।
