• Thursday 8th of October 2026

पेरिस ओलम्पिक : पौडीमा नेपालका एलेक्जेन्डर शाहले सुधार गरे राष्ट्रिय कीर्तिमान


  • धनकुटा खबर
  • .

पेरिस ओलम्पिक २०२४ मा नेपालका पौडीबाज एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन्।

सय मिटर फ्रिस्टायलमा आफ्नै नाममा रहेको कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान क्रममा शाहले ५१.९१ सेकेन्डमा पौडिए।

यसअघि उनले गत फ्रेब्रुअरीमा यो स्पर्धमा कीर्तिमान बनाएका थिए। कतारको दोहामा भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा उनले ५२.१७ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान बनाएका थिए।

पेरिस ‌ओलम्पिकमा सोही कीर्तिमान भंग गर्ने लक्ष्यमा शाह सफल भएका हुन्।

यद्यपी उनी ७९ खेलाडीले भाग लिएको सय मिटर फ्रिस्टायलमा ५९ औं स्थानमा रहे। जसका कारण उनी हिट चरणबाटै बाहिरिए। हिट चरणबाट १६ खेलाडी फाइनल चरणमा पुगेका छन्।

शाहले दोस्रो पटक ओलम्पिक खेलेका हुन्। उनले गत संस्करणको टोकियो ओलम्पिकमा ५३.४१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए। त्यतिबेला उनी ७० जना पौडिएकोमा ५९ औं स्थानमा थिए।

शाहले ओलम्पिकका लागि अमेरिकामा तयारी गरेका थिए। उनी अमेरिकामा अध्ययनसँगै पौडीको प्रशिक्षण पनि गर्छन्। उनी अमेरिकाको न्युयोर्कको फोर्डहम युनिभर्सिटीमा साइकोलोजी पढ्नुका साथै युनिभर्सिटीको क्लबमा प्रशिक्षण गर्छन्।

पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी भएकोमा अब एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले मात्र खेल्न बाँकी छ। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधानले पहिलो चरणमै हार बेहोरेका थिए।

यस्तै ब्याडमिन्टनका प्रिन्स दाहालले सुरुवाती दुई खेलमा हार बेहोरिसकेका छन्। उनले अन्तिम खेल बुधबार खेल्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖