• Saturday 28th of November 2026

प्रचण्ड उथलपुथलको नायक बन्नुभयो, विकास र समृद्धिको यात्रा बोक्न सक्नुभएनः महासचिव पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पार्टी निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । एमाले दाङको बैठकलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले पार्टीका नेता कार्यकर्ताहरुको काँधमा समृद्ध मुलुक निर्माण गर्ने दायित्व थपिएको बताए । उनले यही दिशामा लाग्न आग्रह गरे ।

पार्टीलाई जनतासँग जोड्ने अभियानलाई तीब्र बनाउँदै लैजान निर्देशन दिँदै महासचिव पोख्रेलले एमालेलाई जनताको रोजाइको पहिलो पार्टी बनाउनतर्फ सबै लाग्नुपर्ने बताए । ‘जनमतको हिसावले मुलुकको पहिलो पार्टी हुँदाहुँदै पनि प्राविधिक कारणले एमाले दोस्रो पार्टी बनेको छ । एमाले नेता कार्यकर्ताहरुले यो कुरा कहिले पनि भुल्नु हुँदैन’, महासचिव पोख्रेलले भने, ‘विगतका कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नु पर्दछ । नमिलेका कुरालाई मिलाउँदै रोकिएको पार्टी निर्माणको गतिलाई अगाडि बढाउनुपर्दछ । तपाईँहरु आजैबाट यो कार्यमा लाग्नुहोस् ।’

एमालेलाई उथलपुथल नभई विकास चाहिएको भन्दै महासचिव पोख्रेलले उथलपुथलका नाइके प्रचण्डसँगको सहकार्य तोडेर नयाँ यात्रा प्रारम्भ गरेको बताए । प्रचण्डले सुरु गरेको अस्थिरताले मुलुक झनपछि झन् कमजोर बन्दै गएको महसुस गरी कांग्रेससँग सत्ता सहकार्य गरेको महासचिव पोख्रेललको भनाइ थियो । ‘प्रचण्डले बिजारोपण गरेको अस्थिरताले मुलुक झनपछि झन् संकटग्रस्त बन्दै गएकाले एमालेले नयाँ विकल्प खोजेको हो’, महासचिव पोख्रेलले भने, ‘विकास र समृद्धिको यात्रालाई प्रचण्डले बोक्न सक्नुभएन । उहाँ उथलपुथलको नायक बन्नुभयो । जसकारण नेपाली राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाएका छौं ।’

जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकमा पोलिटब्युरो सदस्यहरु शुजिता शाक्य, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चेतनारायण आचार्यलगायतका केन्द्रीय र प्रदेशका नेताहरुको उपस्थिति रहेको थियो । जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सञ्चालन सचिव श्याम डाँगीले गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖