• Thursday 8th of October 2026

पाकिस्तान-बंगलादेश टेस्टमा दर्शकलाई स्टेडियममा प्रवेश निषेध, खाली स्टेडियममा खेल हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । बंगलादेश र पाकिस्तानबीच हुने टेस्ट क्रिकेट खेलमा दर्शकलाई स्टेडियम प्रवेशमा रोक लगाइएको छ । बंगलादेश र पाकिस्तानबीचको दोस्रो टेस्ट खेल दर्शकविहीन खाली रंगशालामा हुनेछ । यो खेल कराचीमा हुँदैछ ।

कोरोना अवधिपछि दर्शकलाई खेल हेर्न स्टेडियम प्रवेशमा रोक लगाइएको यो पहिलो पटक हो । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यसबारे एक विज्ञप्ति जारी गरेको छ।

पीसीबीले आफ्नो विज्ञप्तिमा आगामी वर्ष पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीको तयारीका लागि रंगशालामा निर्माण कार्य भइरहेको जनाएको छ । जसका कारण यो निर्णय गरिएको हो ।

पीसीबीले भन्यो, ‘हाम्रो लागि फ्यानहरूको सुरक्षा र स्वास्थ्य प्राथमिकता हो। सबै सुरक्षा मामिलाहरूबारे छलफल गरेपछि हामीले दोस्रो टेस्ट खाली रंगशालामा गर्न सुरक्षित हुने निर्णय गरेका छौं ।

पीसीबीले यस निर्णयपछि खेलका लागि जारी गरिएका टिकट तत्काल प्रभावबाट रद्द गरिएको जनाएको छ । उसले भनेको छ, ‘टिकट किनिसकेका फ्यानलाई स्वतः पूरा पैसा फिर्ता दिइनेछ । यो पैसा टिकट खरिद गर्दा पैसा तिरेको खातामा फिर्ता हुनेछ।’

पाकिस्तान र बंगलादेशबीच २ खेलको टेष्ट शृंखला हुँदैछ । यसको पहिलो खेल अगस्ट २१ मा रावलपिण्डीमा हुनेछ । अन्तिम अर्थात् दोस्रो टेस्ट अगस्ट ३० तारिखबाट खेलाइनेछ । यो खेल कराँचीको मैदानमा हुनेछ ।

पाकिस्तान-बंगलादेश टेस्ट टोली

बंगलादेश टोलीः नजमुल हुसेन शान्तो (कप्तान), महमुदुल हसन जोय, जाकिर हसन, शादमान इस्लाम, मोमिनुल हक, मुशफिकुर रहिम, शकिब अल हसन, लिटन कुमार दास, मेहदी हसन मिराज, ताइजुल इस्लाम, नईम हसन, तस्किन अहमद, सैयद खालिद अहमद, नाहिद राना, शोरिफुल इस्लाम र हसन महमूद।

पाकिस्तानी टोलीः शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल (चोट निको भए), अब्दुल्ला शफिक, अबरार अहमद, बाबर आजम, कामरान गुलाम, खुर्रम शहजाद, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नसीम शाह, साइम अयुब, सलमान अली आगा, सरफराज अहमद (विकेटकिपर) र शाहीन शाह अफ्रिदी।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖