सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे नजिकै ठूलो बाढी आएको छ । गाउँपालिकाले सार्वजनिक गरेको भिडियोमा दुधकोशीमा ठूलो बाढी देखिन्छ । दुधकोशीमा आएको बाढी बस्तीमा समेत पसेको भिडियोमा देख्न सकिन्छ ।
हाल सो क्षेत्रमा ठूलो पानी पनि नपरेकोले हिमताल फुटेको हुनसक्ने आशंका गरिएको छ ।
बाढीले २ वटा होटेल र एउटा होस्टेल बगाएको सूचना प्राप्त भएको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भीमबहादुर दाहालले बताए । अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको उनले बताए । ‘हाम्रो टोली त्यहाँ पुगेको छैन,’ उनले भने ‘पहिरो गएको सूचना आएको छ । हिम पहिरो हो/होइन भन्ने खुलेको छैन ।’
यस्तै, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थानेमा ठूलै बाढी आएको पुष्टि गरिन् । ‘दोलखा तिरबाट बाढी आएको बुझिन्छ । हिमताल फुटेर हो वा होइन हामी बुझ्दै छौं,’ उनले लोकान्तरसँग भनिन् ।
देवीका अनुसार अहिलेसम्म बाढीले बगाएर तीन वटा घर पूर्ण रूपमा क्षति भएको छ । एउटा छात्रावासमा पनि क्षति पुगेको जानकारी आएको उनले बताइन् । थप तीन वटा घर बगाउन लागेको खबर आफूले पाएको उनले बताइन् ।
दुधकोशीमा पानीको बहाब बढेकाले आसपासका जनतालाई सजग हुन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
