काठमाडौं – नेपाल राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेलले एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गरेकी छन्।
साउदी अरबको रियादमा भएको एएफसी च्याम्पियन्स लिगको समूह एको खेलमा रेखा आबद्ध अबुधाबी कन्ट्री क्लबले लाओसको योङ एलिफेन्ट्सलाई २-१ ले हराएको थियो ।
अबुधाबीका लागि युगिना तितेथ र रेखाले गोल गरेका थिए। रेखाले दोस्रो हाफमा गोल गरेकी थिइन् । योङले खेलको अन्त्यतिर एक गोल फर्काएको थियो।
रेखा एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। नेपाल पुलिस क्लबकी रेखा गत महिना युएईको क्लबमा आबद्ध भएकी थिइन्।
अबुधाबीले बुधवार म्यानमारको म्यावाडी एफसीसँग र साउदी अरबको अल नासर एफसीसँग ३१ अगस्टमा खेल्ने छ। नासरले पनि आफ्नो पहिलो खेल जितेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले पहिलो पटक आयोजना गरेको महिला च्याम्पियन्स लिगको समूह सीमा नेपालको एपिएफ रहेकोछ।
मलेसियामा एपिएफ आइतवार नै उज्वेकिस्तानको पिएफसी नसाफसँग एपिएफ १-० ले पराजित भएको थियो। एपिएफले बुधवार सवा एफएसँग खेल्नेछ।
