रेखा पौडेल एएफसी वुमन्स च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।
यसै सिजन युएईको अबुधावी कन्ट्री क्लबमा आबद्ध भएकी रेखाले आइतबार एसियाली फुटबल महासंघ (एएफसी) को सबैभन्दा ठूलो क्लब प्रतियोगिता एएफसी वुमन्स च्याम्पियन्स लिगको डेब्यू खेलमा गोल गर्दै इतिहास बनाएकी हुन्।
आइतबार नै लिगमा डेब्यू गरेको नेपाली क्लब एपिएफ पराजित भएको थियो।
रेखाले युएईको क्लब अबुधावीका लागि लाओसको योङ इलिफन्ट्सविरुद्ध गोल गरेका हुन्। ४६ मिनेटमा उनले टोलीका लागि दोस्रो गोल गरेकी थिइन्।
डेब्यू खेलमै गोल गर्न सफल भएपछि रेखाले टोलीका साथीलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेकी छिन्।
प्रारम्भिक चरणको समूह ‘ए’ मा रहेको अबुधावीले अब म्यानमारको म्यावाडी र साउदी अरेबियाको अल नासेरसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालको एपिएफ क्लब भने समूह ‘सी’ मा छ। पहिलो खेलमा उज्वेकिस्तानको पिएफसी नासाफ १-० गोलले पराजित भएको एपिएफले बुधबार मलेसियाको सबा एफएसँग खेल्नेछ।
