• Wednesday 7th of October 2026

पेरिस पारालिम्पिक : नेपालका भरतसिंह जापानका खेलाडीसँग पराजित


  • धनकुटा खबर
  • .

पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्दोमा नेपालका भरतसिंह महत अन्तिम १६ को खेलमा पराजित भएका छन्।

पेरिसस्थित ग्रान्ड पेलेसमा भरत पहिलो चरणमा जापानका मित्सुया तानाकासँग पराजित भएका हुन्।

स्पर्धा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि उनी जापानका खेलाडीसँग १९-३ अंकले पराजित भए।
भरत वाइल्ड कार्ड मार्फत छनोट भएका खेलाडी हुन्।

के–४४ क्याटगोरीकै महिला ५७ केजीमुनि पलेशा गोबर्धनले भेनेन्जुएलाकी भलेरिया मोराल्स विरुद्ध अगष्ट ३० तारिखमा खेल्दैछन्। यो स्पर्धामा ११ खेलाडी छन्। पहिलो चरणमै पराजित हुने खेलाडीलाई रिपाचेज खेल्ने अवसर मिल्ने छैन।

पलेशा भने छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन्। गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्।

छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन्। पलेशा १९ औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक विजेता हुन्।

पदकको आशा गरिएकी पलेशासंग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव छ। त्यस पारालिम्पिकमा पलेशा कांस्य भिडन्तमा चीनकी खेलाडीसंग चुकेकी थिइन्।

नेपाली पारा तेक्वान्दो टोली इङल्यान्डको म्याचेस्टरमा १ महिनाको तयारी प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको थियो।

तेक्वान्दो टोलीको व्यवस्थापकमा नेपाल तेक्वान्दो संघ एवं नेपाल पारालिम्पिक कमिटीका सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन्।
पेरिस पारालिम्पिकमा पलेशा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन्।

उनले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖