• Wednesday 7th of October 2026

भारतीय कप्तान जिनी मधेशबाट खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्।

मधेशले आफ्नो तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा मंगलवार जिनीलाई अनुबन्ध गरेको जनाएको‌ छ।

मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनिया र ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ । मधेशले‌ जिनीको आगमनले टोलीको सेटर पोजिसन शसक्त हुने विश्वास लिएको छ ।

२८ वर्षिय सेटर जिनीलाई आबद्ध गरेसँगै तीनजना विदेशी खेलाडी अनुबन्ध गर्ने मधेश पहिलो टोली बनेको छ ।

जिनीले मधेशबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । उनले भनेकी छिन् ‘मैले यसअघि नेपाल आएर ४ पटक खेलिसकेको छु । यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाइटेडबाट खेल्न आउँदैछु । लिगलाई लिएर एकदमै उत्साहित छु। सबैलाई नेपालमै भेट्नेछु।’

जिनीको‌ कप्तानीमा गत महिना काठमाडौंमा भएको काभा नेसन्स लिगमा भारत च्याम्पियन बनेको थियो। लिगकै दौरान डेंगु संक्रमित भएपछि उनले केही खेल गुमाएकी थिइन् । नेपालविरुद्धको फाइनलको तेस्रो सेटमा जिनी कोर्टमा उत्रेपछि भारत खेलमा हाबी भएको थियो र टोलीले ३-२ सेटले खेल जितेको थियो।

मधेश युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले जिनीलाई अनुबन्ध गर्दा टिम अझ बलियो भएको बताइन् । श्रेष्ठका अनुसार तीन विदेशी खेलाडी घोषणा पछि टिम थप बलियो हुनेछ ।

नेपाली राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअर रहेको मधेशमा अहिलेसम्म ८ नेपाली र ३ विदेशी गरी ११ खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

राष्ट्रिय टोलीकी संगम महतो र शान्तिकला तामाङसहित काभा यू२० महिला च्याम्पियनसिप खेलेका यू२० राष्ट्रिय टिमकी एलिसा मानन्धर र आशिका क्षेत्री पनि मधेश टोलीमा छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका पुजा थारु र हिरा केसी टोलीमा छन् । जसना महतो पनि मधेश टोलीको खेलाडी हुन्।

इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने इडब्लुभिएलमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖