• Wednesday 7th of October 2026

देव खनाललाई किन राखियो ‘ट्राभलिङ रिजर्भ’मा?


  • धनकुटा खबर
  • .

काठमाडौं। क्यानडामा आगामी महिना हुने विश्वकप लिग–२ को त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि सोमबार नेपाली राष्ट्रिय टोली घोषणा गरियो।

प्रतियोगिताका लागि १५ सदस्यीय राष्टिय टोली सहभागी हुने भएपनि नेपाल क्रिकेट संघ(क्यान)ले देव खनाललाई पनि पठाउँदै छ। उनी ट्राभलिङ रिजर्भका लागि टोलीमा समावेश भएका हुन्।

यसको मतलब हो उनी क्यानडा गएपनि रिजर्भ खेलाडीका रुपमा मात्र रहनेछन्। १५ सदस्यीय टोलीको कुनै खेलाडी घाइते भएमा र खेल्न नसक्ने भएमा देवले टोलीमा स्थान बनाउनेछन्।

क्यानले यसअघि २२ जना खेलाडीलाई बन्द शिविरका लागि बोलाएको थियो। उनीहरुलाई दुई साताको प्रशिक्षणका लागि भारत पठाइएको थियो। उक्त टोलीबाट १८ जना खेलाडी श्रीलंकामा अभ्यास खेलमा गएका थिए।

श्रीलंका गएका आकाश चन्द र सागर ढकाल पनि क्यानडामा खेल्ने राष्ट्रिय टोलीमा अँटाएका छैनन्। विगतमा रिजर्भ खेलाडीलाई टोलीसँग लगिदैन थियो र रिजर्भ खेलाडी एक जनाभन्दा बढी हुन्थे।

क्यानका प्रवक्ता छुम्मी लामाले हालको टोली क्यानडाका लागि मात्र घोषणा गरिएको बताए। उनका अनुसार अमेरिकामा हुने शृंखलाका लागि टोलीमा परिवर्तन हुन सक्ने छ। नेपालले क्यानडालगत्तै अमेरिकामा विश्वकप लिग–२ को शृंखला खेल्ने छ।

उक्त शृंखलाका लागि नेपाली टोली क्यानडाबाटै अमेरिका पुग्ने छ। क्यान प्रवक्ता लामा क्यानडा शृंखलापछि अमेरिकाका लागि पुन टोली घोषणा हुने बताउँछन्। ‘ खेलाडी कोही परिवर्तन भएमा नेपालबाटै पनि खेलाडी अमेरिका जान सक्छन्’, उनले भने। क्यानका सचिव पारस खड्काले मंगलबार आयोजित विदाई कार्यक्रममा अमेरिकाका लागि समेत सम्पूर्ण प्रकृया पुरा भएको बताएका थिए।

१५ सदस्यीय राष्ट्रिय टोलीका अधिकांश खेलाडीहरु लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने टोलीमा छन्। यू–१९ राष्ट्रिय टोलीका पूर्व कप्तान देव सिनियर टोलीमा पर्ने बलिया दावेदार हुन्। ५ महिनाअघि भएको राष्ट्रिय टी२० प्रतियोगितामा उनले मध्यम प्रदर्शन गरेका थिए।

सिनियर राष्ट्रिय टोलीबाट उनले १४ एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्दै ३ अर्धसतकसहित ३ सय २९ रन जोडेका छन्। गत फेब्रुअरीमा नेपालमा भएको विश्वकप लिग-२ शृंखलामा उनी राष्ट्रिय टोलीमा थिए। त्यसमा दुई खेलमा प्लेइङ-११ मा परेका थिए। एक खेलमा ब्याटिङको पालो पाएनन् भने अर्को खेलमा शुन्यमा आउट भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖